Advertisement

ओली-मोदी सम्बन्धले लियाे नयाँ उचाइ

0 434

Advertisement

१७ चैत, काठमाडौं । यतिबेला नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बन्ध छ । दुवै नेताहरू आआफ्नो देशमा निकै शक्तिशाली छन् । अन्तर्राष्ट्रियस्तरमा पनि दुवै नेताको विशिष्ट उचाइ बनेको छ । ओलीले शान्तिका लागि संघर्षरत देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन सके । मोदीले भारतलाई विश्वकै शक्तिशाली बनाउने गरी प्रगति पथमा बढाउन सके । नेपाल ओलीमय हुँदा भारत मोदीमय छ । यसकारण दुवै नेताहरू मिलेर आफ्नो देशलाई समृद्धिको युगमा केन्द्रित गर्न सकिरहेका छन् ।

ओली भारतलाई निकै बुझेका नेतामध्ये हुन् । मोदी पनि नेपाललाई निकै बुझेका नेता हुन् । प्रधानमन्त्री नहुँदै मोदीले नेपालको भ्रमण गरेको खुलिसकेको छ । उनी नेपालको हिमाल, पहाड र तराई पुगेका थिए । हिमालयमा तपस्या गरेका थिए । त्यसैले उनी प्रधानमन्त्री भइसकेपछि पनि पटकपटक नेपाल भ्रमणमा आए । मोदीको भ्रमण धार्मिक पनि रह्यो । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम पुगे । त्यागी मोदीमा आध्यात्मिक चिन्तन छ । ओलीमा पनि आध्यात्मिक चिन्तन देखिन्छ । उनी पूर्वीय दर्शनबाट निकै प्रभावित छन् । आफ्नोपन न्यानो मान्छन् । राष्ट्रवादी भावनाले ओतप्रोत छन् ओली । मोदीमा पनि मातृभूमिप्रति अगाध माया छ । उनले भन्ने गरेका छन्, ‘पहिला देश अनि पार्टी ।’ यसरी ओली र मोदीबीच केमेस्ट्री मिलेको छ ।

देशभक्त र पूर्वीय दर्शनका प्रेमी भएकाले ओली र मोदीबीच गाडा मित्रता देखिन्छ । जसरी ओलीले आफ्नो देशमा धर्म संस्कृतिको संरक्षणमा भूमिका खेलिरहेका छन् त्यसरी नै ओलीले पनि देशमा संस्कृतिको जगेर्नामा जोड दिइरहेका छन् । कम्युनिस्ट नेताले धर्म मान्दैनन् भन्ने धारणालाई गलत सावित गरेका छन् । पशुपतिनाथको विशेष पूजा मात्र गरेनन् जलहरी चढाउन बजेटकै विनियोजन गरे । कतिपयले यो कदमको आलोचना गरे पनि ओली झन् लोकप्रिय बन्न सफल भएका छन् । यता ओली लोकप्रिय छन् उता मोदी लोकप्रिय छन् । दुवैबीचको सुमधुर सम्बन्धले नेपाल भारतबीचको सम्बन्धलाई अझ उचाइ प्रदान गरेको छ ।

नेपाल र भारतबीच बेलाबेलामा समस्याहरू नआउने होइनन् । तर, कूटनीतिक माध्यमले यसको समाधान हुने गरेको छ । ओली र मोदी युगमा जस्तोसुकै समस्या पनि कूटनीतिक माध्यमले समाधान हुने गरेको छ । सीमासम्बन्धी समस्या नआएको होइन । केही समय संवादहीनताको अवस्था पनि बन्यो । तर, प्रधानमन्त्री तहमै संवाद भई संवादहीनतामा आइसब्रेक भयो । कालापानी क्षेत्रको सीमा समस्यामा पनि दुवै देशले मन माझेर कुराकानी गरे । समस्याको समाधान कूटनीतिक माध्यमले नै गर्ने सहमति बन्यो । जस्तोसुकै समस्या आए पनि राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धले निरन्तरता पाइनै रहेको छ । ओली प्रधानमन्त्री भइरहँदा जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम अगाडि बढ्यो । अरुण तेस्रोको पूर्वाधार विकासको शिलान्यास नै भयो । अरुण तेस्रो भारतीय कम्पनीले निर्माण गरिरहेको छ । निर्माण सम्पन्न भएपछि नेपालको विकासमा अभूतपूर्व सफलता हासिल हुन्छ ।

ओलीकै कार्यकालमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई तेल आयात सुरु हुन थाल्यो । ओली र मोदीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन भयो । नेपालले वार्षिक रूपमा अर्बौंको ढुवानी खर्च बचाउन सकेको छ । पाइपलाइन विस्तारका कामहरू अझै भइरहेको छ । भारतले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपाललाई निकै साथ दियो । कोरोना कालमा खुल्ला सीमाको व्यवस्थापनमा दुवै देशका सुरक्षा निकाय र स्वास्थ्यकर्मी समन्वय गरेर सक्रिय भए । १८ सय किलोमिटर खुल्ला सीमाको व्यवस्थापन ठूलो चुनौती थियो । तर, दुवै देशले यसमा सफलता हासिल गरे । भारतले कोरोना कहरका बेलामा नेपाललाई ठूलो सहयोग ग¥यो । यसमा पनि ओलीको कूटनीतिक क्षमता नै मुख्य कारण थियो । भ्यान्टिलेटर निरन्तर सहयोग ग¥यो । रोकथामसम्बन्धी सामाग्रीहरू पठायो ।

विश्वका कतिपय धनी देशहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन नपाइरहेको अवस्थामा नेपालले भारतबाट अनुदानमै भ्याक्सिन पायो । १० लाख डोज अक्सफोर्ड भ्याक्सिन नेपालमा आयो । सेरम इन्स्टिच्युटले उत्पादन गरेको भ्याक्सिन नेपालमा आई प्रयोगमा समेत ल्याइसकिएको छ । भ्याक्सिन ल्याउन ओली नेतृत्वको सरकारले कूटनीतिक क्षमता प्रदर्शन गरेको थियो । यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको सुमधुर सम्बन्धको कारण पनि सफल भएको हो ।

दुई देशबीच सम्बन्धको उचाइ अझ बढेको भ्रमण र द्विपक्षीय हितसम्बन्धी कूटनीतिक गतिविधिबाट पनि बुझ्न सकिन्छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पनि नेपालको सबैभन्दा बढी कूटनीतिक तहमा भेटघाट, कुराकानी र छलफल भारतसँगै नै भएको छ । कोरोना भाइरसको संक्रमणका बाबजुद पनि उच्च तहको भ्रमणहरू भएका छन् । सन् २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपटक टेलिफोन वार्ता गरे । जसमध्ये एउटा टेलिफोन वार्ताले सीमा समस्याले संवादहीनताको अवस्थाबीच आइसब्रेक नै ग¥यो । यसपछि विभिन्न तहमा संवादले निरन्तरता पायो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १४ देखि १५ जनवरीमा भारतको भ्रमण गरे । नेपाल भारत संयुक्त कमिसनसम्बन्धी बैठकमा उनले सहभागिता जनाए । उक्त भ्रमणका क्रममा सीमा व्यवस्थापन, कटेक्टिभिटी, व्यापारलगायतका विषयमा छलफल भयो । दुवै पक्षले आर्थिक लाभको एजेन्डामा छलफल गरे । २२ अक्टोबर, २०२० मा रअ प्रमुख सामन्तकुमार गोयलद्वारा नेपाल भ्रमण गरे । उनले बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले नै जानकारी दियो । यो भ्रमणपछि भारतका स्थल सेनाका प्रधानसेनापति मनोजमुकुन्द नरवाणे नेपाल आए । कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाली सेनाको मानार्थ सेनाको उपाधि लिने उक्त भ्रमण महत्वपूर्ण सावित भयो । नरवाणेको भ्रमणले दुई देशबीच सैन्य तहको सम्बन्धलाई निरन्तरता मात्र दिएन मजबुत बनायो ।

भ्रमणको सिलसिला चलिरह्यो । भारतबाट विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल भ्रमण गरे । नेपाली भाषा राम्ररी बोल्न जान्ने श्रृंगलाले दुईदिने नेपाल भ्रमणमा महत्वपूर्ण कुराकानी गरे । उनले नेपालले उठाएको सीमा व्यवस्थापनको विषय पनि जानकारीमा राखेर दिल्ली फर्किएका थिए । यो भ्रमण दुई देशबीच देखिएका समस्याको निक्र्योल गर्न उपयोगी सावित भयो । दुई देशबीच विभिन्न मन्त्रालयका सचिव तहमा समेत छलफलहरू भए । ऊर्जा, वाणिज्यदेखि सुरक्षा क्षेत्रमा द्विपक्षीय छलफलहरू रचनात्मक र सकारात्मक रूपमा अगाडि बढे । दुवै देशलाई लाभ हुनेगरी परिणाममुखी कामहरू निरन्तर भइरहे ।

अबको बाटो
नेपाल र भारतबीच विश्वमै नभएको विशिष्ट सम्बन्ध छ । दुवै देशबीच खुल्ला सीमा छ । रोटी बेटीको सम्बन्ध सदिऔंदेखि चलिआएको छ । जनजनको यो तहको सम्बन्ध विश्वमै पृथक् छ । नेपालको विकास भारतको विकाससँग जोडिएको छ र भारतको विकास नेपालको विकाससँग जोडिएको छ । त्यसैले ओली र मोदी एकअर्काको विकासमा जोडिएका छन् । सबै मिलेर विकासमा जानुपर्छ भन्ने मोदीको नारा छ । उनले सबका साथ सबका विकास नारा छिमेकसँगको सम्बन्धमा समेत भनेका छन् ।

यसलाई नेपालका राजनीतिक दल र जिम्मेवार नेताहरूले सोच्नुपर्छ । मोदी जस्तो नेपाललाई माया गर्ने नेता भारतमा छन् । उनले नेपालको समृद्धि चाहेका छन् । यसलाई मनन् गरेर भारतसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली धरातलीय यथार्थलाई बुझेर छिमेकी देश भारतसँग अझ सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवका अलावा पूर्वप्रधानमन्त्रीसमेत रहेका उक्त दलका नेता डा.बाबुराम भट्टराईले छिमेकसँगको सम्बन्धलाई खुला हृदयका साथ आफ्नो देशहितमा सदुपयोग गर्नेतर्फ पाइला चाल्नुपर्छ । यसैमा नेपाल र नेपालीको हित हुन्छ ।-
(रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित लेखबाट)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.