Advertisement

“म काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिन्छु” – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

0 839

Advertisement

१५ चैत, काठमाडौं । २०५१ सालमा चुनावी भाषण गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए- म काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिन्छु । उनले यस्तो भाषण गरेको २७ वर्षपछि बल्ल काठमाडौंमा मेलम्चीको पानी भित्रिएको छ । भट्टराई आजभन्दा ११ वर्षअगाडि नै बितिसकेका छन् ।

नेपालका विकास आयोजनामा हुने ढिलासुस्तीको एउटा बिम्बको रुपमा मेलम्चीलाई लिने गरिएको छ । २०५८/५९ मा निर्माण सुरु भएर २०६४/६५ भित्र पुरा गर्ने प्रारम्भिक लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न भएको हो । झण्डै ३ दशकअघि केपी भट्टराइले गरेको भाषण आज केपी ओलीको पालामा साकार भएको छ ।

बारम्बार धारामा पानी आउने मिति तोक्ने र विभिन्न बहानामा सार्ने सिलसिलाले मेलम्ची देशवासीहरुका लागि एउटा गम्भिर ठट्टामा परिणत भइसकेको थियो । मेलम्चीको पानी सुन्दरीजलमा खसाउने अघिल्लो दिनसम्म पनि धेरैले पत्याएका थिएनन् । आज धारामा पानी आउँदैछ भन्दा हिजोसम्म पनि कतिलाई विश्वास थिएन ।

पछिल्लो समयमा सरकारले यो आयोजनालाई उच्च महत्व दिएर काममा तदारुकता देखाएकै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनालाई प्रतिष्ठाकै विषय झैं बनाएका थिए । सुन्दरीजलमा मेलम्चीको पानीलाई स्वागत गर्न आफैं पुग्नुले पनि यो आयोजनामा उनको अभिरुची प्रष्ट हुन्छ । मेलम्चीको पानीको औपचारिक उद्घाटन केही दिनपछि राष्ट्रपतिबाटै गराउने उनको योजना छ ।

मेलम्ची आयोजनाको सम्पन्नतासँगै यसको जस लिने होडवाजीहरु चल्न थालिसकेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो दलका पूर्वप्रधानमन्त्री भट्टराईले मेलम्चीको सपना देखेको भन्दै उनलाई जस नदिएकोमा सरकारसँग असन्तोष व्यक्त गरेका छन् । यद्यपि, मेलम्चीले सडक पखाल्ने भाषणबाहेक आयोजनामा भट्टराईको ठोस योगदान चाहिँ भेटिँदैन । भट्टराइले त्यो भाषण गर्नुअगावै मेलम्चीको सम्भाव्यता अध्ययन भइसकेको थियो । काकाकुल काठमाडौंवासीको भोट तान्न उनले त्यो भाषण गर्दा केपी ओलीले हावाबाट बिजुली निकाल्ने भाषण गरेजस्तै उपहास गरिएको थियो ।

जस लिने होडमा माओवादी पनि छ । माओवादीकी पूर्वमन्त्री बीना मगर दुई दिनअघि आफ्नो दलबलसहित सुन्दरीजल पुगिन् । त्यहाँ प्रशोधन केन्द्रको अवलोकन गर्दै उनले ‘आफ्नो योगदानले मेलम्चीको पानी काठमाडौं आउन सम्भव भएको’ सन्देश दिन खोजिन् ।

तर, यस्तो प्रकारले जस लिन खोज्नुको भने कुनै तुक छैन । कसको पालामा कति काम भएको थियो र कसको पालामा काम रोकिएको वा ढिलासुस्ती भएको थियो भनेर जनताले हिसाब गरेरै राखेका छन् । काम गर्नेलाई स्वतः जनताले जस दिन्छन्, मैले गरेको हो भनिरहनै पर्दैन ।

लामो समयदेखि चर्चा भए पनि मेलम्ची आयोजनाको सुरुवात २०५८/५९ सालमा आएर भएको थियो । त्यसबेला ६ वर्षको लक्ष्य राखिएकोमा विभिन्न कारणले लक्ष्य टाढिँदै गयो । निर्माण अवधि लम्बिएसँगै लागत पनि चुलिँदै गयो । निर्माण अन्तिम चरणमा पुग्दै गर्दा दुई वर्षअघि यसमा अर्को संकट उत्पन्न भएको थियो, जब ठेकेदार आयोजना छोडेर भाग्यो ।

तत्कालीन खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी उद्घाटन गर्ने तयारी भइरहेको बताउँदै गर्दा ठेकेदार भागेपछि आयोजना फेरि लथांलिग बनेको थियो । त्यसपछि फेरि नयाँ ठेक्का प्रक्रियामा गएर आयोजनाले पूर्णता पाएको हो ।

राजनीतिक नेतृत्वको अकर्मण्यताले मेलम्चीमा चाहिनेभन्दा बढि समय मात्रै खर्च भएन, लागत पनि उत्तिकै बढ्यो । लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न हुँदा पनि खुशी हुनुपर्ने अवस्था छ । आयाजनामा बढेको लागतको हिसाब गरेर कोही बसिरहेको छैन ।

कृष्णप्रसाद भट्टराईले भाषण गरेजस्तो मेलम्चीको पानी सडकै पखाल्ने गरी वालछ्याल त नहोला, तर काकाकुल काठमाडौंको तिर्खा भने मेटाउन पक्कै पनि सहयोगी बन्ने छ । तर, त्योभन्दा महत्वपूर्ण भनेको सरकार र देशको शासन–व्यवस्थाप्रति गुम्दो जनविश्वासको पुनस्र्थापनमा यसले थोरै भए पनि मद्दत गर्न सक्छ । यही प्रकारले रुग्ण अवस्थामा रहेका अन्य आयोजनाहरुले पनि तीव्रता पाउने र देश विकासले गति लिने आशा बढेको छ ।

मेलम्चीकै जस्तो अवस्थाबाट गुज्रिरहेका अन्य रुग्ण आयोजनाहरुमा पनि यस्तै आक्रामकताको खाँचो छ । तब मात्रै ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफले मूर्तता पाउन सक्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.