चिनी उत्पादन घट्यो
२५ चैत, काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।
क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ ।
चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांकअनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीनओटा उद्योगको तथ्यांक आउन बाँकी छ । ‘तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।
विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको संघले बताएको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको हो । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।