सीजी मोटर्सले इलेक्ट्रिक भेइकल बजारमा प्रवेश गर्ने
०८ बैशाख, काठमाडौं । नेपालको प्रमुख व्यावसायिक घराना मानिने चौधरी ग्रुप इलेक्ट्रिक भेइकल बजारमा प्रवेश गर्ने भएको छ । पहिले देखि नै यसको वारेमा चर्चा चलेको भए पनि हालै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने एक ट्विटमार्फत यसको पुष्टि गरेका छन् ।
निर्वाण चौधरीले हालै आफ्नो ट्वीटमार्फत विश्वको उत्कृष्ट ब्राण्डको ईभी ल्याउने जानकारी दिएका छन् । तर उनले सार्वजनिक गरेको टिजरमा कुन ब्राण्ड आउन लागेको हो भन्ने खुलाएका छैनन्।
‘ज्वाइन द सीजी रिभोलुसन’ भन्ने थिममा सीजी मोटर्सले सो ईभी ल्याउन लागेको उनले जानकारी दिएका छन् ।
यद्यपि चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड) का क्रसओभर कार नेपाली बजारमा ल्याउने चर्चा पहिले देखि चलिरहेको छ । हाल उक्त कम्पनी निटा अटोका रुपमा समेत परिचित रहेको छ। कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका विद्युतीय कार नेपालमा उपलब्ध गराउने तयारी सीजी मोटर्सको छ।
सीजी मोटर्सले प्यासेन्जर कारसँगै साइनरेका भ्यान र पिकअप समेत ल्याउने छ।
चौधरी ग्रुप अन्तर्गत पहिले देखि नै नेपाली बजारमा सीजी मोटोकर्पले मारुती सुजुकीका गाडीहरु आयात गरेर बिक्री–वितरण गरिरहेको छ । सो कम्पनीलाई अर्बपति विनोद चौधरीका भतिजा करण चौधरीले नेतृत्व गरिरहेका छन् ।
अब भने चौधरी ग्रुपले सीजी मोटर्स अन्तर्गत छुट्टै नयाँ कम्पनीमार्फत ईभी ल्याउन लागेको हो ।