Advertisement

राजधानीमै यौन व्यवसायका लागि बालिका ओसारपसार

0 578

Advertisement

१९ चैत, काठमाडौं राजधानी काठमाडौंमै यौन व्यवसायको लागि बालिका ओसारपसार गर्ने गरिएको पाइएको छ । यसरी ल्याइएका बालिकालाई दलालको जिम्मा लगाएर जबरजस्ती यौन व्यवसायमा समेत लगाइएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले यौन व्यवसायको लागि ओसारपसार गरिएका बालिकाका बाबुको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटना खुल्न आएको हो । उक्त अनुसन्धानका क्रममा प्रहरीले यौन व्यवसाय गराउन बालिका ओसारपसार गर्ने, जबरजस्ती यौन व्यवसाय गराउने होटल सञ्चालक र एक ग्राहकसहित चारजनालाई नियन्त्रणमा लिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।

उनका अनुसार सिन्धुलीको ग्याङग्ले गाउँपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ वर्षीया मसेली भन्ने सुहाना तामाङ र सिन्धुलीकै सुनकोसी गाउँपालिका ७ घर भई हाल माकलबारी नै बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै काठमाडौंको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गापा ४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीय मुना थापामगर र काठमाडौंको कागेश्वरी मनहरा नपा १ गागलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक थापाले सुहानाले आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने बालिका तथा युवतीहरुलाई काठमाडौंका कपडा पसललगायतमा काम लगाई दिने प्रलोभनमा पारी यौन व्यवसाय गराउन राजधानीमा बालिका तथा युवती ओसारपसार गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताइन् ।

‘सुहानाले ओसारपसार गरेर ल्याएका बालिका तथा युवतीलाई श्यामकुमारको जिम्मा लगाउने अर्थात् बेच्ने गर्ने देखिएको छ’, उनले भनिन्, ‘श्यामकुमारले भने बालिका तथा युवतीहरुको फोटो खिचेर विभिन्न होटल सञ्चालकहरुलाई दिने र उक्त फोटोको आधारमा ग्राहक खोज्ने कार्य गर्दै आएको देखिएको छ ।’

बालिका तथा युवतीहरुको फोटो होटल सञ्चालक तथा प्रबन्धकले देखाई ग्राहकको रोजाईअनुसार श्यामकुमार आफैले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालकमार्फत सम्बन्धित होटलमा बालिका तथा युवतीहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरी करणी गर्न बाध्य बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन् ।

उनका अनुसार प्रकाश र मुना होटल सञ्चालक हुन् । उनीहरुले सञ्चालन गरेको होटलमा गएको चैत १४ गते पक्राउ परेका अर्का व्यक्ति राजकुमारले १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका थिए ।

प्रहरी उपरीक्षक थापाले यौन व्यवसाय गराउन ल्याइएका बालिका तथा युवतीहरुलाई राख्न काठमाडौंको गोकर्णस्थित माकलबारीको एक घरमा फ्ल्याटकै व्यवस्था गरिएको जानकारी दिइन् । जहाँ यौन व्यवसायमा लगाउने बालिका तथा युवतीहरुलाई खाने र बस्नेलगायतका सम्पूर्ण व्यवस्था गरिएको थियो ।

उक्त फ्ल्याटमा महिलाहरुलाई सामूहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको उनी बताउँछिन् ।उक्त फ्ल्याटमा यौन सम्पर्क गर्दा प्रयोग हुने अस्थायी साधनहरुसमेत बरामद भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार पीडित बालिकाका बुबाले जाहेरीमा जनाएअनुसार उनकी १६ वर्षीया छोरीलाई सुहाना तामाङले गएको चैत १२ गते काठमाडौंका कपडा पसलमा काम लगाइदिने भनी फकाइफुल्याई काठमाडौं ल्याएकी थिइन् ।

तर सुहानाले कपडा पसलमा काम नलगाइकन श्यामकुमारसँग मिलेर काठमाडौंको माकलबारीमा भाडामा लिएको फ्ल्याटमा पुर्‍याउँछिन् । फ्ल्याटमा पुर्‍याइएकी ती बालिकालाई विभिन्न होटलमा पुर्‍याएर होटलमा आएका ग्राहकसँग जबरजस्ती करणी गर्न लगाएको भन्ने किटानी जाहेरीमा उल्लेख रहेको छ ।

ती बालिकाका सुहाना, श्यामकुमार र अन्य युवतीहरुलाई छक्याई भागेर घर पुगेपछि घटना बाहिर आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । फ्ल्याटमा रहेका अन्य महिलाहरुले प्रहरीलाई आफूखुसी फ्ल्याटमा बस्दै आएको बयान दिएकाले उनीहरुलाई प्रहरीले अनुसन्धानको दायरामा नल्याएको उनले जानकारी दिए । उनका अनुसार उक्त फ्ल्याटमा ६ जनाभन्दा बढी महिला सामूहिक रुपमा बस्दै आएका छन् ।

चैत १८ गते परिसरमा परेको मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको किटानी जाहेरी दरखास्तको आधारमा खोजतलास गर्दै जाँदा उक्त घटना प्रकाशमा आएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनले पक्राउ परेकाहरुलाई भक्तपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.