२५ कार्तिक, काठमाडौँ । भाइटीकाको दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
सर्वसाधारणलाई सहज आवतजावतको सुविधा दिने उद्देश्यले सञ्चालन गरिएको बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपलब्ध हुनेछ ।
सशस्त्र प्रहरीका अनुसार दुईवटा बस प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु तथा सीतापाइला, कलंकीलगायत क्षेत्रमा सञ्चालन हुनेछन् ।
त्यस्तै, अर्को बस स्वयम्भूदेखि भक्तपुरसम्म चल्नेछ । यसले कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः स्वयम्भूसम्म सेवा दिनेछ ।
चाडपर्वका बेला सार्वजनिक सवारीसाधन न्यून चल्ने भएकाले यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



+ There are no comments
Add yours