गोरू र गोवर्धन पूजाको महत्व!

२४ कार्तिक, काठमाडौँ । मिती २०८३ साल कार्तिक २४ गते मंगलबार कार्तिकशुक्लपक्ष प्रतिपदा तिथी मध्याह्न : १२ / ४१ बजेसम्म त्यस उप्रान्त द्वितिया तिथी आरम्भ भएको हुनाले यो दिन गोरूपूजा,गोवर्धन पूजा भएकोले धर्मको स्वरूप साढे वा गोरूको पूजा गर्नु पर्दछ।

कृषि र मानव जीवनका आधार गाई र गोरुलाई नुहाएर, तिनीहरूको सिङमा तेल र रङ लगाइन्छ।शरीरमा मेहन्दी वा रङको छाप लगाइन्छ र माला पहिराइन्छ। उनीहरूलाई मिठो अन्न वा कुँडो खान दिइन्छ।

ब्रजवासीहरू हरेक वर्ष वर्षाका देवता इन्द्रको पूजा (इन्द्रयज्ञ) गर्ने गर्दथे।सात वर्षका बालक श्रीकृष्णले आफ्ना पिता नन्द बाबा र ब्रजवासीहरूलाई यो यज्ञको उद्देश्य सोध्नुभयो। नन्द बाबाले इन्द्रले पानी पार्ने र त्यसैबाट अन्न र घाँस उम्रिने भएकाले पूजा गर्न लागेको बताउनुभयो।

तब श्रीकृष्णले कर्म र प्रकृतिको सिद्धान्त अघि सार्दै भन्नुभयो –

कर्मणा जायते जन्तुः कर्मणैव प्रलीयते।
सुखं दुःखं भयं क्षेमं कर्मणैवाभिपद्यते॥

अर्थ: जीव आफ्नो कर्म अनुसार नै जन्मिन्छ र कर्म अनुसार नै नष्ट हुन्छ।सुख, दुःख, भय र कल्याण सबै कर्मबाट नै प्राप्त हुन्छ।

उहाँले ब्रजवासीहरू वन र पर्वतमा बस्ने भएकाले उनीहरूका वास्तविक पालनकर्ता इन्द्र नभई गोवर्धन पर्वत, वन र गाईहरू भएको सम्झाउनुभयो।श्रीकृष्णको कुरा मानेर ब्रजवासीहरूले इन्द्रको पूजा रोके र गोवर्धन पर्वतको पूजा गरे।

आफ्नो पूजा रोकिएको थाहा पाएपछि इन्द्र अहंकारले चुर भए।उनले ब्रज र गोकुललाई नष्ट गर्न प्रलय गराउने ‘साम्वर्तक’ नामका मेघहरूलाई आदेश दिए।ब्रजमा मुसलधारे वर्षा, चट्याङ र असिना पर्न थाल्यो।सम्पूर्ण गोकुल जलमग्न भयो र ब्रजवासीहरू डराएर श्रीकृष्णको शरणमा परे।

ब्रजवासीहरूको रक्षा गर्न श्रीकृष्णले खेल खेलमै गोवर्धन पर्वतलाई आफ्नो बायाँ हातको कान्छी औंलामा उचाल्नुभयो:

इत्युक्त्वाैकेन हस्तेन कृत्वा गोवर्धनाचलम्।

दधार लीलया कृष्णछत्रकमिव बालकः॥

अर्थ: यति भनेर श्रीकृष्णले एउटै हातले गोवर्धन पर्वतलाई उचाल्नुभयो र सानो बालकले च्याउ (छत्रक) समाते झैँ लीलापूर्वक त्यसलाई धारण गर्नुभयो।

श्रीकृष्णले लगातार सात दिन र सात रात सम्म पर्वतलाई छाता जस्तै उचालेर ब्रजवासी, गाई र गोधनको रक्षा गर्नुभयो।

गोवर्धन धराधार गोकुलत्राणकारक।
विष्णुबाहुकृतोच्छ्राय गवां कोटिप्रदो भव॥

अर्थ: हे गोवर्धन पर्वत! तपाईं पृथ्वीको आधार हुनुहुन्छ र गोकुलको रक्षा गर्नेवाला हुनुहुन्छ। भगवान विष्णु (श्रीकृष्ण) ले आफ्नो हातले उचालेर तपाईंको महिमा बढाउनुभएको हो। कृपया मलाई करोडौँ गाई (सुख-समृद्धि) को सुख प्रदान गर्नुहोस्।

इन्द्रको सबै शक्ति र घमण्ड पानी भयो।

आफ्नो गल्ती महसुस गरेपछि इन्द्र स्वर्गबाट ऐरावत हात्ती लिएर आए र श्रीकृष्णको चरणमा परेर क्षमा मागे। कामधेनु गाईले आफ्नो दूधले र इन्द्रले आकाशगंगाको जलले श्रीकृष्णको अभिषेक गरे। गाई र गोकुलको रक्षा गरेको हुनाले इन्द्रले श्रीकृष्णलाई ‘गोविन्द’ नामले पुकार्नु भयो।

त्यसैले यो दिन घरको आँगन वा शुद्ध स्थानमा गाईको गोबरबाट गोवर्धन पर्वतको आकृति बनाइन्छ।

त्यस आकृतिमा श्रीकृष्णको स्वरूप, ब्रजवासी, गाई, गोरु र गोठालाहरूको प्रतीक पनि गोबरबाटै बनाइन्छ।

पर्वतको नाभि स्थानमा एउटा कुण्ड वा खाल्डो बनाएर त्यसमा दूध, दही र गङ्गाजल हालिन्छ।

त्यसपछी गोवर्धन पर्वतलाई साक्षात् श्रीकृष्ण मानेर आवाहन गरिन्छ।

आवाहन र आसन: पुष्प चढाएर गोवर्धन देवको ध्यान गर्ने।

पाद्य र अर्घ्य: जल र चन्दन मिश्रित जल अर्पण गर्ने।

पञ्चामृत स्नान: दूध, दही, घ्यू, मह र चिनी मिसाएर स्नान गराउने।

वस्त्र र यज्ञोपवीत: वस्त्र (वा जनै/काँचो धागो) चढाउने।

गन्ध, अक्षता र पुष्प: रोली, चन्दन, अक्षता र विशेष गरी दुबो तथा फूलहरू चढाउने।

धूप र दीप: धूप बालेर सुगन्ध फैलाउने र घ्यूको दियो बालेर आरती गर्ने र यसै दिन

अन्नकूट उत्सव (छप्पन्न भोग)

यो गोवर्धन पूजाको सबैभन्दा महत्त्वपूर्ण भाग हो।

विभिन्न प्रकारका अन्न, सागसब्जी, मिठाइ, खीर र पुरीहरू बनाएर गोवर्धन देवलाई भोग लगाइन्छ।

विशेष गरी ब्रज क्षेत्रमा ५६ प्रकारका परिकार (छप्पन्न भोग) चढाइन्छ।

पूजा सकिएपछि गोवर्धन आकृतिको सात पटक वा तीन पटक परिक्रमा (प्रदक्षिणा) गरिन्छ र हात जोडेर यो मन्त्र भनिन्छ:

अन्याय मोड मूढानां यत्कृतं तव गर्हितम्।
क्षमस्व तन्महाभाग गोवर्धन नमोऽस्तु ते॥

अर्थ: हे महाभाग गोवर्धन! अज्ञानवश हामीबाट भएका गल्तीहरू क्षमा गर्नुहोस्, तपाईंलाई नमस्कार छ।

पं बालमुकुन्द देबकोटा

See less

You May Also Like

More From Author

+ There are no comments

Add yours