१६ कार्तिक, मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्।
१७ वर्षपछि उनी एउटा हरर चलचित्रमा काम गर्दैछिन्, जसमा ‘बाहुबली’ फेम अभिनेता राणा दग्गुबाती पनि जोडिएका छन्। अभिनेता राणा स्वयंले यो प्रोजेक्टको घोषणा गरेका हुन्।
दिल्लीमा आयोजित ‘हररकन इन्डिया २०२६’ कार्यक्रममा अभिनेता राणा दग्गुबातीले आफ्नो आगामी चलचित्रबारे अचानक ठुलो घोषणा गरे। उनले ‘स्केरी पिक्चर’ नामको हन्टेड चलचित्र निर्माण गर्न लागेको जानकारी दिए।
आफ्ना फरक शैलीका चलचित्रका लागि चिनिने तेलगु चलचित्र निर्माता एवम् अभिनेता रवि बाबुले यस चलचित्रको निर्देशन गर्नेछन्। चलचित्रमा कंगना रनौत मुख्य भूमिकामा देखिनेछन्। कंगनाले पनि आइतबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यो चलचित्रबारे जानकारी साझा गरेकी छन्।

‘हररकन’ मा उपस्थित मानिसहरूले यस कार्यक्रमका धेरै भिडियोहरू सामाजिक सञ्जालमा सेयर गरेका छन्। जसमा राणा दग्गुबातीले मञ्चबाट आफ्नो आगामी चलचित्रको घोषणा गरिरहेको देखिन्छ। पर्दामा देखाइएको एउटा झलकबाट चलचित्रको नाम ‘स्केरी पिक्चर’ रहेको पत्ता लागेको हो। चलचित्रको शीर्षकका आधारमा यसलाई हिन्दी भाषामा बनाइने अनुमान गरिएको छ।
यद्यपि, राणाको प्रोडक्सन हाउसका तर्फबाट चलचित्रबारे अझै औपचारिक घोषणा हुन बाँकी छ। कंगनाले भने इन्स्टाग्रामको एउटा पेजमा सेयर गरिएको भिडियोलाई रिपोस्ट गरेकी छन्, जसमा राणाले चलचित्रको घोषणा गरिरहेका छन्। कार्यक्रममा चलचित्रबारे कुरा गर्दै राणाले भने, ‘यो एउटा हरर चलचित्र हो। यसलाई मेरा साथी रवि बाबुले बनाइरहेका छन्।’
उनले तेलगुमा धेरै हन्टेड चलचित्र बनाएको उल्लेख गर्दै राणाले थपे, ‘हिन्दीमा निर्देशकका रूपमा यो उनको पहिलो फिचर चलचित्र हुनेछ।’ चलचित्रको शीर्षक पहिलोपटक यहीँ घोषणा गरिएको र अहिलेसम्म हिन्दी मिडियालाई पनि यसको जानकारी नभएको उनले बताए।
कंगना रनौतले पछिल्लोपटक सन् २००९ मा रिलिज भएको हरर चलचित्र ‘राज २’ मा काम गरेकी थिइन्, जसमा इमरान हाश्मी पनि थिए। मोहित सूरीले निर्देशन गरेको उक्त चलचित्र बक्स अफिसमा हिट भएको थियो। अब वर्षौँपछि उनी पुनः हरर जनरामा पाइला टेक्न लागेकी छन्। यसमा उनले कत्तिको सफलता पाउनेछन् भन्ने हेर्न बाँकी नै छ।


+ There are no comments
Add yours