इरानी फिल्म निर्देशक जाफर पनाहीलाई सर्वस्वसहित पाँच वर्षको जेल सजाय

१४ कार्तिक, कायरो । इरानका विश्वप्रसिद्ध फिल्म निर्देशक जाफर पनाहीलाई तेहरानस्थित अदालतले पुनः पाँच वर्ष एक महिनाको जेल सजाय सुनाएको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि यसै वर्षको सुरुमा स्वदेश फर्किएका पनाहीलाई अदालतले नयाँ कारावासको फैसला सुनाएको हो ।

तेहरानस्थित अदालतले जेल सजायका साथै पनाहीको नाममा रहेको सम्पूर्ण चल–अचल सम्पत्ति जफत गर्नसमेत आदेश दिएको उनका अधिवक्ता मुस्ताफा निलीले सुधारवादी समाचार वेबसाइट ‘इम्तेदाद’लाई बताएका छन् ।

अधिवक्ता निलीले पनाहीलाई कुन आरोपमा दोषी ठहराइएको हो भन्ने प्रस्ट खुलाएका छैनन् । यद्यपि, गत मार्चमा इरान फर्किएका पनाहीलाई यसअघि पनि ‘व्यवस्थाविरुद्ध प्रचारप्रसार गरेको’ अभियोगमा दोषी ठहर गरिएको थियो ।

युरोपमा रहेका पनाहीका साथी तथा इरानी अधिकारकर्मी होसेन रज्जाकका अनुसार फैसलालगत्तै पनाहीसँग कुराकानी भएको र उनलाई हालसम्म हिरासतमा भने लिइएको छैन । ‘अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बाटो अझै खुला छ, तर हाललाई उनका सबै बैंक खाताहरू रोक्का गरिएका छन्,’ रज्जाकले भने ।

पनाहीले विगतमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दिएका अन्तर्वार्ताहरूमा इरानी नेतृत्वको खुलेर आलोचना गर्दै सरकारविरोधी प्रदर्शनकारीहरूमाथि हुने हिंसाको भर्त्सना गर्दै आएका थिए ।

विश्व फिल्म जगतमा समकालीन इरानी सिनेमाका प्रभावशाली व्यक्तित्व मानिने पनाहीलाई विगत २० वर्षमा त्यहाँको सरकारले पटक–पटक जेल हाल्ने, यात्रामा प्रतिबन्ध लगाउने र नजरबन्दमा राख्ने काम गर्दै आएको छ । त्यसका बाबजुद पनि उनले गोप्य रूपमा फिल्म निर्माणलाई जारी राखेका छन् । सात महिनाको जेलजीवनपछि आमरण अनशन बसेर सन् २०२३ मा रिहा भएका पनाहीले इरानमै लुकिछिपी ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ नामको फिल्म छायांकन गरेका थिए । जसलाई पछि उनले २०२५ को कान्स फिल्म फेष्टिभलमा प्रिमियर गरे ।

को हुन् जाफर पनाही ?

समकालीन इरानी सिनेमाका अग्रणी तथा विश्वकै चर्चित फिल्म निर्देशक, पटकथा लेखक र निर्माता पनाही इरानी सिनेमाको ‘न्यू वेभ’ आन्दोलनका प्रमुख संवाहक मानिन्छन् । उनका फिल्महरूमा इरानी समाजका यथार्थपरक समस्या, मानव अधिकार, महिलाका अधिकार र सामाजिक विसंगतिहरूलाई कलात्मक तथा वृत्तचित्र–शैली (डकु–फिक्सन) मा प्रस्तुत गर्ने गरिन्छ ।

६६ वर्षिइ पनाहीले अब्बास किरोस्तामीसँग सहायक रही सर्ट फिल्महरु बनाउँदै करिअर सुरु गरेपछि सन् १९९५ मा ‘द ह्वाइट बलुन’ बाट डेब्यु गरेका थिए । जून फिल्मले सोही वर्षको कान्स फिल्म फेष्टिभलमा क्यामेरा डि’ओर जितेको थियो ।

पनाही विश्व फिल्मका चार त्यस्ता निर्देशकमध्येमा पर्छन्, जसले युरोपका महत्वपूर्ण र प्रमुख तीन फिल्म फेष्टिभल कान्स, बर्लिन र भेनिसमा अवार्ड जितेका छन् । उनको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ (२०२५) ले कान्समा पाल्म डि’ओर, ‘ट्याक्सी’ (२०१५) ले बर्लिनमा गोल्डेन बियर र ‘द सर्कल’ (२०००) ले भेनिस फिल्म फेष्टिभलमा गोल्डेन लायन अवार्ड जितेको थियो ।

पनाही इरानमा महिलाको अवस्थाबारे चित्रित गरिएको उनको तेस्रो फिल्म ‘द सर्कल’ देखि नै इरानी सरकारको आँखी बन्न थालेका थिए । उक्त फिल्मलाई सरकारले सेन्सर्ड गर्नेदेखि ब्यान्डसम्म गरेर पनाहीलाई दुःख दिएको थियो । त्यसपछि पनि सरकार विरोधी क्रियाकलापमा संलग्न भएको तथा इस्लामिक रिपब्लिकका विरुद्धमा भ्रम फैलाएको आरोपमा उनलाई सन् २०१० मा ६ वर्षको जेल सजायका साथै २० वर्षसम्म फिल्म निर्माणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारको प्रतिबन्धका बाबजुद पनि पनाहीले लुकिछिपी फिल्म बनाउन भने छोडेनन् । सन् २०११ मा ‘दिस इज नट अ फिल्म’, २०१३ मा ‘क्लोज्ड कर्टन’, २०१५ मा ‘ट्याक्सी’ र २०२२ मा ‘नो बियर्स’ यसैगरी बनाएका थिए । उनलाई यसै वर्ष टाइम म्यागाजिनले ‘टाइम १००’ मा समेत सूचिकृत गरेको छ ।

इरान सरकारको कडा सेन्सरसिप, यात्रा प्रतिबन्ध, घरमै नजरबन्द र पटक–पटकको जेल सजायका बाबजुद उनले गोप्य रूपमा फिल्म निर्माण जारी राखेका छन् ।

सात महिनाको जेल सजायपछि सन् २०२३ मा रिहा हुँदै उनले इरानमै गोप्य रूपमा ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ को छायांकन गरेका थिए । यस फिल्मले अस्करमा उत्कृष्ट पटकथा र इन्टरनेशनल फिचर फिल्म तथा गोल्डेन ग्लोबमा उत्कृष्ट फिल्मसहित फरेन ल्यांग्वेज फिल्म, निर्देशन र पटकथा गरी चार विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा उत्कृष्ट फिल्म र निर्देशनको पुरस्कार जितेको यो फिल्मले विभिन्न फेष्टिभलबाट दुई दर्जन अवार्ड जितिसकेको छ ।

इरानमा फिल्म बनाउन प्रतिबन्धित पनाहीले सीमावर्ती गाउँमा बसेर टाढाबाट फिल्म निर्देशन गर्दाका अप्ठ्यारा र प्रेमकथालाई ‘नो बियर्स’ मा प्रस्तुत गरेका छन् । त्यसैगरी, इरानका विभिन्न पुस्ताका तीन महिलाको कथामा आधारित फिल्म ‘थ्री फेसेज’ ले ग्रामीण इरानको सामाजिक यथार्थ देखाउँछ ।

फिल्म बनाउन प्रतिबन्ध लगाइएका बेला पनाही आफैं तेहरानमा ट्याक्सी चालक बनेर यात्रुहरूसँग गरेका संवाद र गतिविधिलाई ड्यासक्याममार्फत रेकर्ड गरी ‘ट्याक्सी’ फिल्म तयार पारेका थिए । एपी

You May Also Like

More From Author

+ There are no comments

Add yours