एप्पलले कडा बनायो सामान्य एपको भेषमा कपडा हटाउने एआई एपमाथि प्रतिबन्ध लगाउने नियम

०५ कार्तिक, काठमाडाैँ । एप्पलले सप्ताहन्तमा आफ्नो विकासकर्ता निर्देशिकालाई कडा बनाउँदै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर आपत्तिजनक सामग्री बनाउने एपमाथि प्रतिबन्ध लगाएको छ।

यसका साथै, एप स्टोरको समीक्षा प्रक्रिया पार गर्न आफूलाई सामान्य एपका रूपमा प्रस्तुत गर्ने र स्वीकृति पाएपछि कपडा हटाउने एआई एपमा परिणत हुने वा त्यस्ता सुविधालाई प्रमुखताका साथ देखाउने एपमाथि पनि प्रतिबन्ध लगाएको छ।

टेकक्रञ्चका अनुसार कम्पनीले एआई र प्रयोगकर्ताले सिर्जना गर्ने सामग्रीसम्बन्धी नियममा कडा भाषा प्रयोग गर्दै आपत्तिजनक सामग्री नियन्त्रण गर्न एप विकासकर्ताले पर्याप्त रोकथामका उपाय अपनाउनुपर्ने व्यवस्था गरेको छ।

कम्पनीले ब्लग पोस्टमा भनेको छ, “प्रयोगकर्ताले सिर्जना गरेको सामग्री राख्ने एपले आपत्तिजनक सामग्री छान्नुपर्छ, प्रयोगकर्तालाई त्यस्तो सामग्रीबारे रिपोर्ट गर्ने सुविधा दिनुपर्छ र दुर्व्यवहार गर्ने खातालाई रोक्न सक्ने व्यवस्था गर्नुपर्छ। एप स्टोरमा लुकेका वा दस्तावेजमा उल्लेख नगरिएका सुविधा भएका एप पनि प्रतिबन्धित छन्। यसमा समीक्षा प्रक्रियाका क्रममा आफ्नो वास्तविक उद्देश्य लुकाउने र स्वीकृति पाएपछि मात्र ‘कपडा हटाउने’ जस्ता हानिकारक सुविधा देखाउने एप पनि पर्छन्। यस्तो तरिकालाई सामान्यतया ‘बेट एन्ड स्विच’ भनिन्छ।”

एप्पलले एप स्टोरको समीक्षाका लागि पेस गरिएको संस्करणमा नभएका सुविधा पछि थप्ने एप हटाइने जनाएको छ।

आईफोन निर्माता कम्पनीले आफ्नो कानुनी खण्डमा रहेको भाषालाई पनि अद्यावधिक गरेको छ। यसमार्फत मानव बेचबिखन र बालबालिकाको शोषणलाई प्रोत्साहन गर्ने एपमाथि प्रतिबन्ध लगाउने आफ्नो नीति थप स्पष्ट पारेको छ।

एप्पलका अनुसार गत वर्ष समीक्षा प्रक्रियाका क्रममा १ लाख ५० हजारभन्दा बढी एप प्रयोगकर्तासम्म पुग्नबाट रोकिएका थिए। ठगी र दुरुपयोगका कारण १ लाख ९३ हजार विकासकर्ता खाता पनि हटाइएको थियो।

जुलाईमा सान फ्रान्सिस्को सहरले एप्पल र गुगल दुवैलाई आफ्ना एप स्टोरबाट कपडा हटाउने एआई एप हटाउन निर्देशन दिएको थियो। सहरका महान्यायाधिवक्ता डेभिड चिउले यी कम्पनीले एप स्टोरबाट लिइने शुल्कमार्फत त्यस्ता एपबाट नाफा कमाइरहेको आरोप लगाएका थिए।

त्यसैगरी, अप्रिलमा टेक ट्रान्सपरेन्सी प्रोजेक्टको प्रतिवेदनले दुवै प्रविधि कम्पनीका एप स्टोरमा कपडा हटाउने एआई एपहरू रहेको देखाएको थियो। तीमध्ये केही एपलाई नाबालिगका लागि उपयुक्त भनेर वर्गीकरण गरिएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours