०२ कार्तिक, सुर्खेत । बडादसैँ सुरु भएसँगै देश तथा विदेशबाट घर फर्कनेहरूको यतिबेला घुइँचो लागेको छ। हवाई र स्थलमार्ग दुवैतिर यात्रुहरूलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याइनभ्याई छ।
पैसा भए पनि सहज यात्रा गर्न नपाएको र यात्रा निकै कष्टकर तथा महँगो भए पनि दसैँमा परिवार, आफन्त र इष्टमित्रसँग भेट हुने आशाले यात्रुहरूलाई ती सबै दुःख सहनुको विकल्प छैन। कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँसम्म पुग्नेहरूको यात्रा अझ बढी जटिल र पट्यारलाग्दो बनेको छ। तथापि, घर पुगेर दसैँ मनाउने व्यग्र चाहनाले प्रतिकूल अवस्थालाई पनि उनीहरूले अनुकूल बनाउँदै लगेका छन्।
खाडी मुलुक तथा भारतका विभिन्न स्थानबाट दसैँ मनाउन घर फर्कनेहरू परिवारसँगको पुनर्मिलनको आशामा बाटोको हण्डर र खर्च भुलेर यात्रा गरिरहेका छन्। वर्षौँसम्म भेट्न नपाएका परिवारका सदस्य, आफन्त तथा सङ्गीसङ्गीनीहरूसँग भेट हुने अवसरका रूपमा बडादसैँ र तिहार सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने सङ्गम बनेको छ। जसले गर्दा सहर छोडेर गाउँ हानिनेहरू खुसी मुद्रामा देखिन्छन्।
भारतको बैङ्गलोरबाट घर फर्केका तिला गाउँपालिका–४ जुम्लाका नमराज शाहीले सहरको कोलाहलबाट गाउँ फर्किँदा शान्तिभूमि पुगेको अनुभूति भएको बताएका छन्। उनले भने, ‘गाउँमा घरहरू छुट्टाछुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरू अति नजिक छन्। विडम्बना, सहरमा घरहरू जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ।’
शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत र मासलगायतका अन्नबाली भित्र्याउने, न्वागी खाने, छिमेकीबीच उत्पादन आदानप्रदान गर्ने र लिङ्गे पिङ खेल्दै दुःख–सुख साट्ने काम भइरहेको छ।
यात्राका हिसाबले कर्णाली राजमार्ग तथा भेरी करिडोर भएर जाने यात्रुहरूलाई निकै सास्ती व्यहोर्नुपर्ने बाध्यता छ। दुई दिनको गाडी र पैदल यात्रापछि घर पुगेका हुम्ला अदानचुलीका मनरुप परियारले सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको बताए। उनले भने, ‘मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ।’
नागरिकहरू दसैँ–तिहार मनाउन गाउँ फर्किएपछि सहरमा चहलपहल घट्दै गएको छ भने बसपार्क र विमानस्थलमा घर जानेहरूकै भीड देखिन्छ। सर्लाहीबाट जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले रोजगारीका लागि सहर पस्नु बाध्यता भए पनि सहरभन्दा गाउँ नै सम्पन्न र शान्त रहेको बताइन्। उनले भनिन्, ‘सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको आभास हुन्छ। यतिबेला सहरभन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र बडादसैँको बहारले उमङ्गित बनेको छ।’


+ There are no comments
Add yours