एआईको जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था गठन गर्न वैज्ञानिकहरूको माग

२८ असाेज, काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् ।

एआईका अग्रणी अनुसन्धाताका रूपमा चिनिने जेफ्री हिन्टन र योशुआ बेंगियोसहित करिब ४०० वैज्ञानिक तथा विज्ञले मंगलबार खुला पत्र जारी गर्दै उन्नत साइबर क्षमतायुक्त एआई प्रणालीका लागि सुरक्षा मापदण्ड निर्धारण गर्न र पारदर्शी प्रतिवेदन प्रणाली विकास गर्न आह्वान गरेका हुन् ।

प्रस्तावित अन्तर्राष्ट्रिय संस्थाले उद्योगस्तरका सुरक्षा मापदण्ड निर्धारण गर्नुका साथै एआई प्रणालीसँग सम्बन्धित गम्भीर सुरक्षा घटनाको आधिकारिक अभिलेख तयार गर्नेछ । यस्तो अभिलेखलाई क्रमशः सर्वसाधारणका लागि पनि सार्वजनिक गर्नुपर्ने उनीहरूको सुझाव छ ।

खुला पत्रमा अनुसन्धानकर्ताहरूले अत्याधुनिक एआई मोडेललाई विकासको प्रारम्भिक चरणमा बाह्य सञ्जालबाट अलग राख्नुपर्ने र तिनको स्वतन्त्र अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । प्रविधि कम्पनीहरूले स्वेच्छाले गर्ने सुरक्षा प्रतिबद्धता मात्र जोखिम नियन्त्रणका लागि पर्याप्त नभएको उनीहरूको तर्क छ ।

एक महिनाअघि एन्थ्रोपिक, ओपनएआई, गुगल, मेटा, एक्सएआई र एनभिडियालगायत प्रविधि कम्पनीहरूले ह्वाइट हाउससँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर, उक्त सम्झौतामा स्वैच्छिक सुरक्षा उपायको व्यवस्था भए पनि तिनको कार्यान्वयन अनिवार्य गराउने संयन्त्र नभएको भन्दै वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय संस्थाको आवश्यकता औँल्याएका हुन् । रोयटर्स

You May Also Like

More From Author

+ There are no comments

Add yours