एनपिएल सिजन-३ : आइसिसीको स्वीकृति नआउँदा विदेशी खेलाडी घोषणा गर्न हच्किए टोली

२३ असाेज, काठमाडौँ । नेपालमा क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुन अब धेरै समय बाँकी छैन । मैदानमा आठ टोली भिड्ने तयारीमा छन्, समर्थकमा प्रतियोगिताको प्रतीक्षा बढ्दै गएको छ । तर, एनपिएलको अर्को महत्त्वपूर्ण तयारी भने अहिले मैदानबाहिर अड्किएको छ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यतामा ।

एनपिएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक तयारी अघि बढाइसकेको छ । प्रतियोगितामा केही चर्चित अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता पनि निश्चित भइसकेको छ । तर, विदेशी खेलाडीको अनुबन्धलाई अन्तिम रूप दिने विषयमा भने क्यान र एनपिएलका टोलीहरू आइसिसीको औपचारिक निर्णयको प्रतीक्षामा छन् ।

आइसिसीले माग गरेका आवश्यक कागजात क्यानले पठाइसकेको छ । अब प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाउने औपचारिक निर्णयको पर्खाइमा क्यान छ । क्यानका सचिव पारस खड्काका अनुसार मान्यता प्राप्त भएपछि एनपिएलका टोलीलाई अझ स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ । ‘राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ । तर, अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियली स्याङ्कसन आएपछि मात्रै उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ’, खड्काले भन्नुभयो, ‘धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ । आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस् ।’

यही कारण एनपिएलका टोलीको नजर अहिले आइसिसीको निर्णयमा छ । चर्चित विदेशी खेलाडीलाई प्रतियोगितामा ल्याउने प्रयास भइरहे पनि औपचारिक मान्यता नआएसम्म अन्तिम घोषणा गर्न टोलीहरू हच्किएका हुन् । मान्यता पाएपछि टेष्ट राष्ट्रका चर्चित खेलाडीलाई समेत अनुबन्ध गर्न बाटो सहज हुने क्यानको विश्वास छ ।

एनपिएलको तेस्रो संस्करणमा यसपटक नै केही ठूला नाम नेपाल आउने तयारीमा छन् । डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित खेलाडी प्रतियोगितासँग जोडिँदै छन् । यस्ता खेलाडीको उपस्थितिले एनपिएलको प्रतिस्पर्धात्मक स्तर बढाउने मात्र होइन, नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय चर्चामा लैजानसमेत मद्दत गर्ने क्यानको अपेक्षा छ ।

यसअघिका संस्करणमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर र कमेन्टेटरहरूले नेपालमा बिताएको समयको सकारात्मक अनुभव अन्तर्राष्ट्रिय समुदायसम्म लैजान सक्ने उहाँको विश्वास छ । उहाँका अनुसार यसअघि नै करिब ५५ देखि ६० अन्तर्राष्ट्रिय खेलाडी तथा अम्पायर र कमेन्टेटरसहित ६० देखि ७० विदेशी नागरिक एनपिएलका लागि नेपाल आएका थिए । उनीहरू नेपालबाट सकारात्मक अनुभव लिएर फर्किएको खड्काको भनाइ छ ।

खेलाडीको नेपाल आगमनलाई क्यानले ‘स्पोर्ट्स टुरिजम’सँग जोड्न खोजेको छ । विश्वस्तरीय खेलाडीले नेपालमा खेलेर फर्किएपछि सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा आफ्नै अन्तर्राष्ट्रिय सम्पर्कमार्फत्् नेपालको चर्चा गर्दा त्यसले पर्यटनमा समेत प्रभाव पार्न सक्ने क्यानको बुझाइ छ । ‘स्पोर्ट्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ’, खड्काले भन्नुभयो, ‘विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तर्राष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ । त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ ।’

नयाँ कुर्सी, नयाँ पिच, नयाँ प्रवेशद्वार

देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ । एनपिएलको तेस्रो संस्करण सुरु हुनुपूर्व नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेंलो, रातो, सुन्तला र सेतो रङका हजारौँ बकेट कुर्सीहरू जडान गरिएका छन् ।

मैदानको गोलाइअनुसार व्यवस्थित रूपमा मिलाइएका यी कुर्सीहरूले रंगशालालाई बेग्लै भव्यता प्रदान गरेका छन् । क्यान स्रोतका अनुसार प्रत्येक सिटलाई निश्चित नम्बरिङ गरी दर्शकलाई सहजै आफ्नो स्थान पहिचान गर्न सकिने प्रणाली लागू गरिँदैछ ।

यसबाट दर्शकहरूबीचको अव्यवस्था र धकेलाधकेल अन्त्य भई सुरक्षित वातावरणमा खेल अवलोकन गर्न सकिनेछ । टी-२० क्रिकेटको मुख्य आकर्षण भनेकै चौका र छक्काको वर्षा र तीव्र गतिको खेल हो । यसलाई मनन गर्दै त्रिवि मैदानको केन्द्रीय पिच स्क्वायर र आउटफिल्डलाई विशेष सतर्कताका साथ स्याहार गरिँदैछ ।

स्थानीय क्युरेटर तथा मैदानकर्मीहरू बिहानैदेखि स्वचालित लन मोवर मेसिन चलाएर घाँसको लम्बाइ बराबर पार्न र रोलरमार्फत् पिचको कडापन बढाउन जुटिरहेका छन् । आउटफिल्डमा हरियो दुवोलाई सन्तुलित पानी र मलखाद दिई चिल्लो गलैँचाजस्तै बनाइएको छ, जसले गर्दा खेलाडीहरूलाई बाउन्ड्री लाइन नजिकै डाइभ लगाउँदा घाइते हुने जोखिम निकै न्यून हुनेछ ।

बलले जमिन छुँदा द्रुत गतिमा सिमाना पार गर्ने किसिमको आउटफिल्ड तयार भइरहेको प्राविधिक टोलीले जनाएको छ । मैदान परिसरमा सिभिल इञ्जिनियरिङ र निर्माणको काम पनि उत्तिकै द्रुत गतिमा अघि बढिरहेको छ । कामदारहरूले बालुवा, गिट्टी र रातो इँटाको प्रयोग गरी नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्ग र मञ्चको जग उठाइरहेका छन् ।

त्यस्तै, फलामका मजबुत ट्रस र बिमहरूमा दक्ष प्राविधिकहरूले वेल्डिङ गर्दै अन्तर्राष्ट्रिय कमेन्ट्री बक्स, प्रत्यक्ष टेलिभिजन प्रसारण क्यामेरा प्लेटफर्म र विशिष्ट अतिथि लाउन्जको निर्माण कार्यलाई पूर्णता दिइरहेका छन् । विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदैछ ।

मैदानभित्र मात्र होइन, बाहिर कीर्तिपुर जाने सम्पूर्ण सडकमा समेत क्रिकेटको उत्सव छाएको छ । काठमाडौंबाट त्रिवि मैदानतर्फ जाने मुख्य सडकमा एक्सट्रिम इनर्जी ड्रिंक, ओमोडा-जाइकुलगायतका मुख्य प्रायोजकहरू र जनकपुर बोल्ट्सका मार्की खेलाडी रोहित पौडेललगायत विभिन्न फ्रेन्चाइज टिमका खेलाडीहरूको तस्वीरसहितको भव्य स्वागतद्वार ठडिएको छ ।

खेल मैदान परिसरमा सिसी टिभी क्यामेरा, मेटल डिटेक्टर र सुरक्षा जाँच चौकीहरू रहनेछन् । दर्शकका लागि डिजिटल टिकट अनिवार्य गरिनेछ जसबाट दर्शकले आफ्नो निर्धारित गेट र सिट नम्बर सजिलै पत्ता लगाउन सक्नेछन् । साथै, सवारीसाधन पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । मंसिर ५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा अघिल्ला संस्करणझैँ आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमै गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १६औँ स्थानमा छ ।

यसअघि नेपाल १७औँ स्थानमा थियो । नेपालले ९३९ अंक र २८ रेटिङ प्राप्त गरेको छ । भारत वरीयताको शीर्षस्थानमा कायम छ । यसैगरी, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पाकिस्तान, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेष्ट इण्डिज क्रमशः दोस्रोदेखि १०औँ स्थानमा छन् ।

नेपालले पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनसँगै विश्व वरीयतामा पनि क्रमशः सुधार गरिरहेको छ । १६औँ स्थानमा पुग्नु नेपाली क्रिकेटका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours