कालीगण्डकी करिडोरका ठाउँठाउँमा पहिरो, कोरला नाकाको आयात–निर्यात प्रभावित

१३ असाेज, काठमाडौँ । अविरल वर्षापछि कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरला सडकका विभिन्न ठाउँमा पहिरो र सडक कटान भएपछि यातायात अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने सामानको आयात–निर्यातसमेत प्रभावित भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार असोज ८ गतेदेखि परेको लगातार वर्षाका कारण राष्ट्रिय राजमार्ग ४८ अन्तर्गत पर्ने सडक खण्डमा पहिरो जाने, सडक कटान हुने र पुलका एप्रोच रोड बग्ने समस्या आएको हो।

लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोलालगायतका स्थानमा लेदोसहितको पहिरो गएर सडक अवरुद्ध भएको विभागले जनाएको छ।

त्यस्तै पोखरेबगर पुलको बायाँतर्फको एप्रोच रोड बगेको छ। तातोपानी कुण्ड, नार्च्याङ र खामभित्तामा नदीको उच्च बहावका कारण सडक कटान भएपछि आवागमन प्रभावित भएको छ।

सडक अवरुद्ध भएपछि कोरला नाकाबाट सामान आयात–निर्यात गर्ने काममा तत्काल समस्या परेको विभागले जनाएको छ। विशेषगरी मुस्ताङ हुँदै चीनसँगको व्यापारका लागि प्रयोग हुने यो सडक अवरुद्ध हुँदा नाकासम्म सामान ओसारपसार प्रभावित भएको हो।

सडक विभाग र मातहतका निकायले अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम गरिरहेका छन्। केही स्थानमा अवरोध हटाएर सडक सञ्चालनमा आइसकेको विभागले जनाएको छ।

वर्षा रोकिएर काममा थप अवरोध नभएमा बाँकी अवरुद्ध सडकसमेत ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याउने जानकारी सडक विभागबाट प्राप्त भएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागले सडक विभागको निरन्तर प्रयासबाट सडक छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि कोरला नाकाबाट हुने आयात–निर्यात पनि सहज हुने अपेक्षा गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours