क्षतिग्रस्त चिलिमेसम्म पुग्यो पहुँचमार्ग

२८ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी हिमबाढीले नेपाल–चीन सीमा रसुवागढीसम्म पुग्ने पासाङ ल्हामु मार्ग पूर्ण रूपमा क्षतविक्षत बनाएसँगै वैकल्पिक मार्गमार्फत स्याफ्रुबेँसीसम्मको पहुँच विस्तार भएको छ । नेपाली सेनाको इन्जिनियरिङ टोलीले पहुँचमार्ग निर्माण गर्ने क्रममा रसुवाको क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजनासम्म भारी उपकरण लैजान सकिने गरी पहुँचमार्ग तयार गरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नुवाकोटदेखि रसुवा सदरमुकाम धुन्चेसम्म वैकल्पिक मार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ । धुन्चेदेखि स्याफ्रुबेँसीसम्मको अवरुद्ध सडक खुलाउँदै सेनाले थप उपकरण पुर्‍याउने र स्याफ्रुबेँसीको भोटेकोशीमाथि तुइनमार्फत आवतजावत हुने गरी अन्तिम तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसै गरी नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार रसुवाको स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनासम्म करिब एक हजार ५० मिटर पहुँचमार्ग निर्माण सम्पन्न गरेको जनाएको छ । सेनाले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चार वटा छ/छ मिटर लम्बाइका ठुला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिँदै गरेको जनाएको छ । खोज तथा उद्धारमा खटिएको संयुक्त टोलीले सुरुङभित्र एक्साभेटर प्रयोग गरी करिब ६५ मिटर लेदो हटाएको र सुरुङभित्र थप खोजी तथा उद्धार जारी रहेको पनि सेनाले जनाएको छ ।

यसैबिच रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । लामटाङ जलविद्युत् आयोजनाको सुरुङको सम्पूर्ण क्षेत्रमा खोजी गर्दा हालसम्म केही फेला नपरेको पनि सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–१ को हाकुबेँसीस्थित अडिट–३ सुरुङ, त्रिशूली थ्री ‘ए’ को पावरहाउस तथा सुरुङ क्षेत्र र त्रिशूली थ्री ‘बी’ आयोजनामा पनि संयुक्त टोलीले खोजी तथा उत्खनन कार्य जारी राखेको जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours