आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

३१ साउन, काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकामा आज (आइतबार) पनि विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण हुने भएको छ ।

शनिबार काठमाडौं जिल्लाका ४ स्थानबाट विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर करिब ९० वटा गाडीमार्फत बिक्री गरिएको थियो । त्यसैको मोडललाई निरन्तरता दिँदै आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ७ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार आइतबार टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरबाट ग्यास बिक्री गरिनेछ ।

यी बिक्री केन्द्रमा विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध हुनेछन् ।

निगमले सार्वजनिक गरेको विवरणअनुसार टेकुमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री वितरण हुने छ ।

पशु सेवा शाखा चपली बूढानीलकण्ठमा नेपाल, एचपी र भानु तथा राधास्वामी कीर्तिपुरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाब र श्रीमाया ग्यास पाइने छ ।

जुडो हल नयाँ बजारमा नेपाल, एचपी र ओम तथा तारकेश्वरमा नेपाल र एचपी ग्यास बिक्री वितरणको प्रबन्ध मिलाइएको निगमले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास विक्री वितरण हुने छ ।

यसैगरी भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका सिलिण्डर बिक्री वितरण गरिने नेपाल आयल निगमको सूचनामा उल्लेख छ ।

निगमले ग्यास अत्यावश्यक भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रबाट ग्यास सिलिण्डर खरिद गर्न आग्रह गरेको छ । खरिदका लागि उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वय, नेपाल आयल निगमको व्यवस्थापन, ग्यास उद्योगीहरुको सहयोग र प्रहरी प्रशासनको सुरक्षामा शनिबार पनि काठमाडौंका पाँच स्थानबाट ग्याँस बिक्री गरिएको थियो ।

बिक्रीस्थलमा लामो लाइन लागेको थियो । झरीमा रुझ्दै उपभोक्ताहरु आफ्नो पालो पर्खिरहेका थिए । तर कतिपय उपभोक्ता लामो समयको पर्खाइका बाबजुद भरिएको सिलिण्डर नपाई फर्किन बाध्य भएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने शनिबार काठमाडौंका पाँच स्थानबाट विभिन्न कम्पनीका करिब ७ हजार थान ग्यास सिलिण्डर करिब ९० वटा गाडीबाट वितरण गरिएको जनाएको छ । यसबाट ग्यास आपूर्तिमा देखिएको समस्या धेरै हदसम्म न्यूनीकरण भई वास्तविक लक्षित वर्गसम्म पुग्न सफल भएको दाबी गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours