मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षा र ३५ जिल्लामा आकस्मिक बाढीको सम्भावना

२४ साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८ बजे जनाएअनुसार हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी प्रदेशका केही स्थान तथा कोसी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा वर्षा/हिमपातको सम्भावना छ। पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सूदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा पनि आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम नै छ।

‘केही बेर मौसम खुलेजस्तो भए पनि फेरि बादल लागिहाल्ने देखिन्छ’, उनले नेपालखबरसँग भने, ‘खासगरी दिउँसो १२ बजेपछि मध्यम वर्षा हुने सम्भावना बढी छ।’

तत्काल (बिहान) भने वर्षाको सम्भावना कम नै देखिएको मौसमविद् दाहालको भनाइ छ।

‘भइहाले पनि छिटपुट खालको वर्षा हुन सक्छ’, उनले भने दिउँसो र अपराह्न भने मध्यमसम्म वर्षा हुने सम्भावना छ। उपत्यकामा आज राति पनि वर्षा हुने सम्भावना छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

You May Also Like

More From Author

+ There are no comments

Add yours