अबेर राति प्रधानमन्त्रीको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

२३ साउन, काठमाडौँ । आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्‌मै आफ्नो आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।

शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन्।

आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गरेका छन्। ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’, उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन।’

प्रधानमन्त्री शाहले यो पोस्ट गरेकै दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल रास्वपाकै सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours