१२ साउन, काठमाडौँ । काठमाडौँस्थित बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ । ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो ।
प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याउनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीले महोत्सवले आँप कूटनीतिमार्फत बङ्गलादेशका राजदूतले अघि सार्नुभएको यस नवीन पहलको सराहना गर्दै दुई देशबिच न्यानोपन र मित्रताको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालका लागि बङ्गलादेशका राजदूत सफिकुर रहमानले बङ्गलादेशमा आँप केवल एउटा फल मात्र नभई संस्कृति, विरासत, परम्परा र कृषि अर्थतन्त्रको अभिन्न अङ्ग भएको प्रस्ट पार्नुभयो । उहाँका अनुसार त्यहाँ उत्पादन हुने खिरसापत, हरिभङ्गा, लङ्गडा, फजली, गोपालभोग, आम्रपाली, अश्विना, बनाना म्याङ्गो, काटिमन, गौरमोती, बारी जस्ता प्रख्यात जातका आँप असाधारण मिठास, विशिष्ट सुगन्ध, उत्कृष्ट गुणस्तरसँगै पोषणयुक्त हुने गर्छ । महोत्सवमा उपस्थित विभिन्न क्षेत्रका अतिथिले प्रदर्शित आँपको रसास्वादन गर्नुभएको थियो ।


+ There are no comments
Add yours