एम्बाप्पेले भने- बेल्जियम वा स्पेनमध्ये जोसुकै आए पनि कुनै फरक पर्दैन

२५ असार, काठमाडौँ । मोरक्कोलाई पराजित गर्दै फ्रान्सलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुर्‍याएका कप्तान किलियन एम्बाप्पे लगातार अर्को पटक पनि ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेमिफाइनलमा बेल्जियम वा स्पेनमध्ये जोसुकै प्रतिद्वन्द्वी बने पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्।‘मलाई कुनै फरक पर्दैन। बेल्जियम भए बेल्जियम, स्पेन भए स्पेन। जे हुन्छ, त्यसैलाई सामना गर्छौं। सेमिफाइनल सधैं कठिन हुन्छ,’ एम्बाप्पेले भने।

फ्रान्स टोलीमा आफू पहिलेभन्दा बढी नेतृत्वदायी भूमिकामा रहेको महसुस हुन्छ कि भन्ने प्रश्नमा एम्बाप्पेले त्यसलाई स्वीकार गरेका छन्।‘म फ्रान्सको टोलीसँग निकै सहज महसुस गर्छु। यो मेरो अत्यन्तै प्रिय समूह हो। धेरै खेलाडीसँग मेरो वर्षौँदेखिको मित्रता छ। अहिलेका युवा खेलाडीले मलाई टोलीका अनुभवी खेलाडीमध्ये एकका रूपमा हेर्छन्।’

उनले आफूले विशेषगरी मैदानबाहिर उदाहरण प्रस्तुत गर्नुपर्ने जिम्मेवारी महसुस गरेको बताए।‘मैदानमा हुने कुरा फुटबलसँग सम्बन्धित हुन्छ। तर मानसिक र भावनात्मक रूपमा मसँग धेरै अनुभव छ, किनभने यो टोलीमा मैले सबैभन्दा धेरै विश्वकप खेल खेलेको छु। विश्वकपमा खेल्नु कस्तो हुन्छ भन्ने मलाई थाहा छ र त्यो अनुभव आफ्ना टोलीका साथीहरूलाई बाँड्नु मेरो जिम्मेवारी हो।’

मोरक्कोविरुद्धको खेलको अन्तिम समयमा गोलीगाँठोमा चोट लागेपछि मैदान छाडेका एम्बाप्पेले आफू पूर्ण रूपमा ठीक रहेको बताए।‘म ठीक छु। गोलीगाँठोमा सामान्य चोट लागेको हो, तर अहिले कुनै समस्या छैन। अन्तिम १५ मिनेट खेल्नका लागि मभन्दा मटेटा राम्रो अवस्थामा थिए।’

उनले टोलीको लक्ष्य अझै पूरा नभएको भन्दै भने, ‘आराम गर्ने एउटै उपाय जित हासिल गर्नु हो भन्ने हामीलाई थाहा छ। हामी सेमिफाइनलमा पुगेका छौं र खुसी छौं, तर यात्रा अझै बाँकी छ। अबका चुनौती हामीले पार गरेका चुनौतीभन्दा अझ कठिन हुनेछन्, तर हामी त्यसका लागि तयार छौं।’

मोरक्कोका कप्तान तथा आफ्ना घनिष्ठ मित्र अश्रफ हाकिमीलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनाएकोबारे पनि एम्बाप्पेले प्रतिक्रिया दिए। ‘उनीसँग फेरि ड्रेसिङ रुममा भेट हुँदा मलाई बढी भावुक बनाउनेछ। त्यहाँ हामी फेरि साथी हुन्छौं। तर मैदानमा भावना हुँदैन। हामी जित्न आएका थियौं, उनी पनि जित्न आएका थिए।’

सन् २०१८ मा विश्वकप जितेको फ्रान्सको टोलीभन्दा अहिलेको टोली बलियो हो कि भन्ने प्रश्नमा एम्बाप्पेले असहमति जनाए।‘होइन। म विश्वकप विजेता पनि भइसकेँ र उपविजेता पनि। अहिलेको टोलीले अझै विश्वकप जितेको छैन, उपविजेता पनि बनेको छैन।’

उनले भने, ‘यो टोलीमा सबैभन्दा धेरै सम्भावना छ। भविष्यका लागि सबैभन्दा आशा जगाउने टोली यही हो। यसमा धेरै गुणस्तरीय खेलाडी छन्। तर सबैभन्दा बलियो टोली त्यही हुन्छ, जसले उपाधि जित्छ। अहिले मेरो छेउमा कुनै स्वर्णिम ट्रफी छैन।’

You May Also Like

More From Author

+ There are no comments

Add yours