२५ असार, काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य सडकहरू अवरुद्ध भएका छन् ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडकमा यातायात प्रभावित भएको छ । केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी रूपमा मात्र सवारी चलिरहेका छन् ।
बागमती प्रदेशका सडकमा बढी समस्या देखिएको छ । काभ्रेको बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण सवारी आवागमन रोकिएको छ ।
कान्तिलोकपथका दुई स्थानमा पनि अवरोध भएको छ । मकवानपुरको भीमफेदी–८ भन्ज्याङडाँडा र ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ ।
गण्डकी प्रदेशको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । गुल्मीको पौँदी खण्डमा भने पहिरो हटाएर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ ।
कर्णाली प्रदेशमा पनि सडक प्रभावित भएका छन् । रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्डमा बाढीका कारण भेरी करिडोर बन्द भएको छ । जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीदेखि तातोपानी–७ र ८ तामती जोड्ने भित्री सडक पहिरोका कारण अवरुद्ध भएको छ ।



+ There are no comments
Add yours