दुग्ध कोरिडोरको सपना

१९ असार, रेसुङ्गा (गुल्मी) । घरनजिकैबाट कालीगण्डकी कोरिडोर छिरेपछि गुल्मीको सत्यवती गाउँपालिका–२, ठुलोलुम्पेक चेहेमीका ५१ वर्षीय ओमबहादुर कुँवरले दुग्ध कोरिडोरको सपना देख्न थाल्नुभयो । सुरुमा मासुका लागि एक लाखको लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएका कुँवरले बिस्तारै दुग्ध व्यवसायका लागि गाईपालन थाल्नुभयो । कुँवरका अनुसार अहिले फार्ममा ४० बाख्रा, २४ गाई, १४ बाच्छाबाच्छी र भैँसी रहेका छन् ।

कुँवरले सत्यवती कृषि तथा पशुपालन फार्म उद्योगमार्फत दैनिक करिब २५० लिटर दुध बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “गौरव डेरीमा दुध पुग्छ, बजारको कुनै समस्या छैन ।” कोरिडोर दैनिक चलायमान बनिरहेकाले अबको दुई वर्षमा गाईहरूको सङ्ख्या दोब्बर बनाएर दैनिक ४०० लिटर दुध उत्पादन गर्ने र दुग्धजन्य उत्पादनमा विविधीकरण गर्ने कुँवरको योजना छ । अहिले फार्ममा एक करोड ५० लाख रुपियाँको लगानी पुगेको छ ।

मासिक करिब पाँच लाख रुपियाँको दुध र बाख्राबाट कारोबार हुने गरेको उद्यमी कुँवरको भनाइ छ । उहाँले पशुपालनको स्रोतकेन्द्र हुँदै दुग्ध कोरिडोरको रूपमा अगाडि बढाउने योजनाका साथ परदेशबाट फर्केकाहरूलाई निःशुल्क सिप सिक्ने अवसर दिनुभएको छ । कालीगण्डकी कोरिडोर सञ्चालनमा आएसँगै रुरू, सत्यवती र कालीगण्डकीका गाउँहरूमा कृषि, पशुपालन, होटेल तथा पर्यटनका सम्भावना खुलेका छन् । यसै गरी कोरिडोरमा पर्ने पर्वत, बागलुङ, म्याग्दी जस्ता गाउँ गाउँमा सडक सुविधा पुगेका जिल्लाका पशुपालकका निम्ति कालीगण्डकी दुग्ध कोरिडोरकै रूपमा स्थापित हुन सक्ने सम्भावना छ ।

कुँवरले फार्ममा दाना, घाँस, नश्ल, स्वास्थ्य, शुद्ध दुध उत्पादन, गोठ सुधार र व्यवास्थापनमा अभ्यास गराएर पशुपालनमा युवालाई आकर्षित गर्न स्रोत केन्द्रको अवधारणा ल्याउनुभएको छ । उच्च चेतना भएका व्यक्तिहरूले मात्रै कृषि र पशुपालन गर्नुपर्नेमा कुँवरले जोड दिनुहुन्छ । उहाँले भन्नुभयो, “दाना, घाँस, नश्ल, स्वास्थ्य र बजारलगायत विषयमा ज्ञान नभए पशुपालन व्यवसायमा केही गर्न सकिँदैन । त्यसैले उच्च चेतना भएकाले मात्रै कृषिमा लगानी गरेर व्यवसाय गर्नु पर्छ ।”

कुँवरकोमा धुर्कोट गाउँपालिका–२, पिपलधाराका भेषबहादुर महत कृषि तथा पशु प्राविधिक हुनुहुन्छ । मावि अध्यापन गराउने महत विद्यालय छोडेर कँुवरको फार्ममा काम गर्नुहुन्छ । फार्ममा दुई जना नियमित र दुई जना आंशिक कामदार छन् । आगामी वर्ष गाई र बाख्राको गोबर र मलमूत्रबाट ५० रोपनीमा तरकारी खेती गर्ने कुँवरको सोच छ । उहाँले आफ्नोमा एक सातादेखि एक महिना काम गरेर आफैँ पशुपालनमार्फत स्वरोजगार बन्न घर फर्किनेहरू धेरै रहेको बताउनुभयो ।

यो सत्यवती गाउँपालिकाको सबैभन्दा ठुलो पशुपालन फार्म हो । गाउँपालिकाका सहायक पशु विकास अधिकृत नारायण खनालले पालिकामा एक सयको हाराहारीमा फार्म र ४२ समूहले सक्रिय रूपमा कृषि तथा पशुपालनका क्षेत्रमा काम गरेको बताउनुभयो । गत जेठसम्म पाँच लाख २२ हजार लिटर दुध संस्थागत रूपमा बजारीकरण भएको खनालले जानकारी दिनुभयो । समूहहरूले कृषि र पशुपालनबाटै दुई करोड रुपियाँको हितकोष निर्माण गरेका छन् ।

समूहका सदस्यलाई सहुलियत कर्जा आवश्यक परे अरू साहु काढ्न वा वित्तीय संस्था गुहार्न नपर्ने खनालले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले फार्मको अनुगमनपछि जिल्लामै सम्भावना बोकेको व्यावसायिक पशुपालनका रूपमा आफूले लिएको बताउनुभयो । कोरिडोरसँग ओम कुँवरको व्यावसायिक योजना, काम र सिप निकै लोभलाग्दो भएको बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours