१९ असार, काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र भएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ। यसको प्रभाव होटल, रिसोर्ट र अन्य पर्यटन सेवामा पनि देखिएको छ।
संघीय राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरलगायत प्रमुख सहर तथा पर्यटकीय गन्तव्यमा स्वदेशी र विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको छ।
पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता भएर सञ्चालन हुने भए पनि तारे होटल र रिसोर्ट पर्यटन विभागमा दर्ता भएर सञ्चालन अनुमति लिन्छन्। पर्यटन विभागका अनुसार हाल देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्। तीमध्ये २९ वटा पाँचतारे होटल छन्।
पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार गत वर्ष ३३५ होटल तथा रिसोर्ट दर्ता भएकामा यस वर्ष संख्या बढेर ३५० पुगेको छ।
उनका अनुसार ४४ एकतारे, ४९ दुईतारे, ३७ तीनतारे, ४० चारतारे र २८ पाँचतारे होटल दर्ता भएका छन्। त्यसैगरी, पाँचतारे डिलक्स होटल तीन, पाँचतारे लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स हेरिटेज चारतारे होटल पाँच, नर्मल हेरिटेज बुटिक (तीनतारे) एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन रहेका छन्।
दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्या छन्। यी होटल तथा रिसोर्टले पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवा–सुविधा र अन्तर्राष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता विस्तार गरेका छन्।
गौतमका अनुसार होटल तथा रिसोर्टमा लगानी बढेसँगै विभागले समयअनुकूल होटलको मापदण्ड परिमार्जन गर्न थालेको छ।
नेपालमा होटल तथा रिसोर्टलाई व्यवस्थित र स्तरीकरण गर्न पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड बनाइएको थियो। समयको माग र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सरकारले २०७६ सालमा त्यसलाई संशोधन गरेको थियो। अहिले अन्तर्राष्ट्रिय मापदण्ड, गुणस्तर र इको–टुरिजमलाई ध्यानमा राखेर मापदण्ड पुनः परिमार्जन भइरहेको छ।
यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति र पर्यटन विभागका निर्देशक तथा होटल शाखा प्रमुख (उपसचिव)को नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ। कार्यदलले असार मसान्तभित्र संशोधित मापदण्डको मस्यौदा मन्त्रालयमा बुझाउने तयारी गरेको छ।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार नेपालमा तारे होटल तथा रिसोर्टको संख्या बढ्नु विदेशी पर्यटकको आकर्षण बढेको संकेत हो।
उनले भने, “नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटनले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।”
शाहका अनुसार पछिल्लो समय भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार बनेपछि पर्यटन क्षेत्रमा विश्वासको वातावरण सिर्जना हुँदै गएको उनको भनाइ छ।
उनले भने, “नेपाल भारत र चीनबीचको सुन्दर गन्तव्य हो। यी दुवै देशबाट बर्सेनि करोडौँ मानिस यात्रा गर्छन्। ती पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ।”
भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित मण्डनदेउपुरमा निर्माणाधीन निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक क्रिस्टिना श्रेष्ठका अनुसार होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ।
झन्डै दुई अर्ब रुपैयाँ लगानीमा निर्माणको अन्तिम चरणमा रहेको निगालो होटलमा ६५ सुविधासम्पन्न कोठा छन्।
एक दशक अष्ट्रेलियामा बसेपछि नेपाल फर्केर द्वारिकाज, रूपाकोट, मल्ल र हिल्टनजस्ता चर्चित होटलमा काम गरेकी श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि बढिरहेको छ। उनले अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार सुधार र सेवा गुणस्तरमा निरन्तर ध्यान दिनुपर्ने बताइन्।
वरिष्ठ पर्यटन व्यवसायी अभिषेकविक्रम शाहका अनुसार पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढेको छ। नयाँ सरकारले पर्यटनलाई प्राथमिकतामा राखेकाले होटल क्षेत्रमा पनि भविष्यको सम्भावना देखेर लगानी बढेको उनले बताए।
उनका अनुसार निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सकिए विदेशी पर्यटकको संख्या अझै बढ्नेछ।
लाजिम्पाटस्थित बुकी बुटिक होटल र नागार्जुन रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएका शाहले भारतीय पर्यटकको आगमनसँगै आन्तरिक पर्यटनको चहलपहल बढेकाले होटल व्यवसायमा उत्साह थपिएको बताए।
लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकालका अनुसार नेपालमा होटल तथा रिसोर्टको संख्या बढ्नु सकारात्मक हो। विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि धेरै पर्यटकस्तरीय होटल सञ्चालनमा आएकाले राज्यले होटलवालाको मात्र नभई समग्र होटल व्यवसायीको दृष्टिकोणबाट नीति बनाउनुपर्ने उनको भनाइ छ।
कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको छ। कोरोनापछि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्। चालु वर्षको जुनसम्म मात्रै पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।


+ There are no comments
Add yours