नतिजा समयमै प्रकाशित गरिएको हो, हतारमा होइन् : शिक्षामन्त्री पोखरेल

१२ असार, काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया निर्धारित समयमै सम्पन्न गरिएको भन्दै यसमा कुनै हतार नगरिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आवश्यक जनशक्ति थप गरेर र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा समयमै सार्वजनिक गरिएको उल्लेख गरेका छन् । उनका अनुसार नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा अघि बढाइएको हो ।

नतिजापछि भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै उनले लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्न पाउने अधिकारको सम्मान हुनुपर्ने बताएका छन् । साथै, आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा अपमानजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् ।

नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको निष्पक्ष परीक्षण गर्न शिक्षा तथा खेलकुद मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने समिति गठन गरिएको पनि उनले जानकारी दिए । समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ), प्राप्ताङ्कको पुन: परीक्षण तथा डेटा इन्ट्रीको भेरिफिकेसन गरी प्रतिवेदन पेश गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours