मेडिकल काउन्सिलले सञ्चालनमा ल्यायो ‘हेलो एनएमसी’

११ असार, काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला चिकित्सक सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उनले बताए।

दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो। चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउनसक्ने अवस्था थिएन ।

यस पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउनसक्ने व्यवस्था छ । विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउने छ ।

उक्त उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ। दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् ।

सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours