११ असार, काठमाडौँ । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्मी छ । अरु ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ । केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ ।
बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ । आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गर्मीको बेला अत्यावश्यक काममाबाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरुको आग्रह छ ।
आज देशका हिमाली र पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरुमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ ।
यसैबीच गर्मी धेरै बढेपछि वीरगञ्जका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । पछिल्ला दिनमा तराई, मधेशका जिल्लाहरुमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।


+ There are no comments
Add yours