०८ असार, काठमाडौँ । टेलिकम कम्पनीहरूले सफल व्यवसाय कायम राख्न भविष्यमा आफ्नो व्यवसायिक मोडेलबारे स्पष्ट निर्णय लिनुपर्ने र त्यसका लागि पछिल्ला वर्षहरूमा एयरलाइन उद्योगले अपनाएको मोडेललाई अनुकरण गर्न सक्ने एक प्रतिवेदनले सुझाव दिएको छ।
राकुटेन सिम्फोनीको २०२६ इन्डस्ट्री ग्रोथ रिपोर्टअनुसार सबैलाई सबै प्रकारका सेवा दिन खोज्दा टेलिकम कम्पनीहरूको वृद्धि स्थिर बन्दै गएको छ। त्यसैले उनीहरूले तीनमध्ये एउटा बाटो रोज्नुपर्ने प्रतिवेदनले जनाएको छ। ती विकल्पमा युटिलिटी कम्पनी बन्ने, इकोसिस्टम आधारित मोडेल अपनाउने वा प्लेटफर्म प्रदायकमा रूपान्तरण हुने समावेश छन्।
जापानी प्रविधि कम्पनी राकुटेन सिम्फोनीले आफ्नो प्रतिवेदनमा टेलिकम कम्पनीहरूले आफू वास्तवमा कुन व्यवसायमा रहने भन्ने मुख्य प्रश्नको सामना गरिरहेको जनाएको छ।
“धेरै टेलिकम कम्पनीहरूको लागत संरचना प्रविधि कम्पनीजस्तो छ तर आम्दानी युटिलिटी स्तरको छ, र नेटवर्कमा गरिएको लगानीले पनि नेटवर्कसँग सम्बन्धित नभएको समस्या समाधान गर्न सक्दैन,” राकुटेन सिम्फोनीका प्रमुख मार्केटिङ अधिकृत जियोफ होलिङवर्थले भने।
रिपोर्टअनुसार मानव ग्राहकहरूको संख्या बढ्न बन्द भइसकेको बजारमा पनि उद्योगले अझै पुरानै वृद्धि केन्द्रित मापन प्रणाली प्रयोग गरिरहेको छ।
राकुटेन सिम्फोनीका अनुसार विगतमा प्रति प्रयोगकर्ता औसत आम्दानी (ARPU) र ग्राहक गुम्ने दर (Churn) महत्वपूर्ण सूचक थिए। तर सन्तृप्त बजारमा यिनले कम्पनीहरूलाई मूल्य जोगाउन थप लगानी गर्न बाध्य बनाउँछन्। त्यसैले कम्पनीहरूले ARPU लाई मुख्य सूचकको रूपमा प्रयोग गर्न छोडेर ग्राहकको जीवनकाल मूल्य, ग्राहक प्राप्ति लागत र ग्राहकबाट हुने कुल व्यावसायिक गतिविधिमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
प्रतिवेदनले कम्पनीहरूले उल्लेखित तीनमध्ये कुनै एक व्यवसायिक मोडेलमा केन्द्रित हुनुपर्ने बताएको छ, जसमा एउटा मोडेल राकुटेनको मोबाइल सेवाले अपनाएको छ।
टेलिकम्स डटकमका अनुसार राकुटेन मोबाइलले २०२० मा जापानको चौथो मोबाइल नेटवर्क अपरेटरका रूपमा सेवा सुरु गरेको थियो। बजारको आकारको तुलनामा यसको ग्राहक संख्या अझै सानो भए पनि यसको वित्तीय अवस्था अपेक्षाकृत राम्रो रहेको कम्पनीले जनाएको छ। कम्पनी गत वर्ष एबिटा अर्थात् आयकर कट्टी अघिको नाफामा पुगेको थियो र चालु वर्षको पहिलो त्रैमाससम्म पनि त्यही अवस्थामा रहेको छ। यद्यपि सञ्चालन घाटा भने कायम छ।
राकुटेनका अनुसार यसको इकोसिस्टम आधारित मोडेलमार्फत अहिले १ करोड ३६ लाखभन्दा बढी सदस्यता सेवा सञ्चालनमा छन्। कम्पनीले ७५ प्रतिशत ग्राहक कम लागतका प्रवेश सेवामार्फत र ८५ प्रतिशत उच्च मूल्यका ग्राहक आफ्नै इकोसिस्टमभित्रबाट प्राप्त गर्ने गरेको जनाएको छ, जसले ग्राहक प्राप्ति लागतलाई ग्राहकको जीवनकाल मूल्यभन्दा कम राख्न मद्दत गरेको छ।
विश्वका अन्य टेलिकम कम्पनीहरूले राकुटेनजस्तै ठूलो ई–कमर्स इकोसिस्टम बिना यस्तो सफलता दोहोर्याउन कठिन हुने तर्क गर्न सक्छन्। राकुटेन समूहका अनुसार किनमेल, भुक्तानी, बैंकिङ, यात्रा लगायतका सेवामा उसका करिब ४ करोड ६० लाख मासिक सक्रिय प्रयोगकर्ता छन्।
तर कम्पनीले यसको समाधान साझेदारीमा देखेको छ। अमेरिकी एयरलाइन उद्योगमा भएको मूल्य प्रतिस्पर्धाले कम्पनीहरूलाई ग्राहक निष्ठा कार्यक्रम र सह-ब्रान्डेड वित्तीय सेवातर्फ धकेलेको उदाहरण दिँदै राकुटेनले डेल्टा एयरलाइन्स र अमेरिकन एक्सप्रेसबीचको साझेदारीले गत वर्ष एयरलाइनलाई ८.२ अर्ब डलर आम्दानी गराएको उल्लेख गरेको छ। यसको दीर्घकालीन लक्ष्य वार्षिक १० अर्ब डलर आम्दानी पुर्याउनु रहेको बताइएको छ।
“राकुटेनले मोबाइल क्षेत्रमा पनि यस्तै रणनीति सफलतापूर्वक लागू गरेको छ,” कम्पनीले जनाएको छ।
राकुटेनका अनुसार अन्य अपरेटरहरूले पनि उपयुक्त साझेदारी सम्झौतामार्फत यस्तै मोडेल अपनाउन सक्छन्। कम्पनीहरूले आफैं सेवा निर्माण गर्न नसके छिमेकी क्षेत्रका सेवासँग साझेदारी गर्न सक्ने तर ती सम्झौताहरू राजस्व साझेदारीमा आधारित हुनुपर्ने सुझाव दिइएको छ।
टेलिकम कम्पनीहरूले लामो समयदेखि नयाँ वृद्धि खोज्दै अन्य बजारतर्फ विस्तार गर्ने प्रयास गरेका छन्, यद्यपि अधिकांश प्रयास धेरै सफल भएका छैनन्। तर त्यसले पुनः प्रयास गर्न रोक्नु नहुने प्रतिवेदनले जनाएको छ।
यदि कम्पनीहरूले त्यो बाटो रोज्न चाहेनन् भने उनीहरूले आफूलाई युटिलिटी कम्पनीका रूपमा रूपान्तरण गर्न सक्ने र त्यसका लागि लागत संरचना उपयुक्त बनाउनुपर्ने राकुटेनले जनाएको छ।
प्रतिवेदनमा भनिएको छ, “प्रविधि कम्पनीको स्तरमा लगानी गर्ने तर युटिलिटी स्तरको आम्दानी मात्र कमाउने संस्था न राम्रो युटिलिटी कम्पनी हुन्छ, न अग्रणी प्रविधि कम्पनी। त्यो एउटै वित्तीय संरचनामा रहेका दुई असन्तुलित व्यवसायिक मोडेल भएको अपरेटर मात्र हुन्छ।”
युटिलिटी मोडेल अपनाउने कम्पनीहरूले स्वचालित र कम लागतका नेटवर्क सञ्चालन प्रणाली विकास गर्नुपर्ने तथा पर्याप्त प्रतिफल नदिने अतिरिक्त व्यवसायबाट बाहिरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। सफल कम्पनीहरू प्रविधि कम्पनीभन्दा पूर्वाधार कोषजस्ता देखिने पनि रिपोर्टले जनाएको छ।
तेस्रो विकल्पका रूपमा कम्पनीहरूले आफूलाई विशेषीकृत अपरेटर तथा एमभीएनओहरूलाई सहयोग गर्ने प्लेटफर्म प्रदायकमा रूपान्तरण गर्न सक्ने राकुटेनले जनाएको छ। यसले उनीहरूलाई सम्भावित रूपमा लाभदायक बजार खण्डहरूका लागि विशेष सेवा उपलब्ध गराउने अवसर दिनेछ।
यी सबै विकल्प टेलिकम कम्पनीहरूका लागि नयाँ नभए पनि उद्योगका धेरै कम्पनीहरूले नयाँ रणनीति आधा मनले अपनाउने र पुरानै अभ्यास जारी राख्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख छ। राकुटेनले भने उडान भर्न चाहने कम्पनीहरूले कठिन निर्णय लिनुपर्नेमा जोड दिएको छ।


+ There are no comments
Add yours