क्रोमबुकको सट्टा ‘जेमिनी एआई’ केन्द्रित ‘गूगलबुक’ :  माउसको कर्सर नै बन्नेछ एआई एजेन्ट

गूगलले १५ वर्ष पुरानो क्रोमबुकको अवधारणालाई विस्थापित गर्ने तयारी गरेको छ।

०२ जेठ, काठमाडौँ। गूगलले १५ वर्ष पुरानो क्रोमबुकको अवधारणालाई विस्थापित गर्ने तयारी गरेको छ। कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टम र क्रोमओएसको विशेषतालाई मिलाएर आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ श्रेणीको ल्यापटप ‘गूगलबुक’ सार्वजनिक गरेको छ।

यो केवल एउटा अपरेटिङ सिस्टम मात्र नभई जेमिनी एआईको शक्ति भएको एउटा ‘इन्टेलिजेन्स सिस्टम’ हो । यसले प्रयोगकर्ताका दैनिक कामहरूलाई आफैँ बुझेर सहज बनाउनेछ।

जेमिनी इन्टेलिजेन्स र म्याजिक पोिन्टर

गूगलबुकको सबैभन्दा ठुलो र फरक विशेषता यसको कर्सरमा देखिनेछ। गुगल डिपमाइन्ड टोलीसँगको सहकार्यमा विकास गरिएको ‘म्याजिक पोइन्टर’ ले माउसको कर्सरलाई नै एआई एजेन्टमा बदलिदिनेछ।

स्क्रिनमा कर्सरलाई अलिकति हल्लाउनासाथ जेमिनी एआई सक्रिय हुनेछ। प्रयोगकर्ताले कुनै इमेलमा आएको मितिमा कर्सर लैजाँदा यसले आफैँ क्यालेन्डरमा मिटिङ सेट गर्ने विकल्प दिनेछ।

त्यस्तै, यदि स्क्रिनमा आफ्नो कोठाको फोटो र एउटा नयाँ सोफाको फोटो छानियो भने यसले ती दुवैलाई मिलाएर कोठामा सोफा कस्तो देखिन्छ भनेर तत्कालै भिजुअलाइज (भर्चुअल रूपमा प्रस्तुत) गरिदिनेछ।

साधारण भाषाबाटै विजेट निर्माण

यसमा प्रयोगकर्ताले आफूलाई चाहिएको विजेटको बारेमा साधारण भाषामा लेखेर कस्टमाइजबिट विजेट बनाउन सक्नेछन्। जेमिनीले इन्टरनेट, जिमेल र क्यालेन्डर जस्ता एपहरूबाट जानकारी लिएर एउटै ड्यासबोर्ड तयार पारिदिनेछ। उदाहरणका लागि, यदि तपाईँ कतै भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने जेमिनीले होटल बुकिङ, फ्लाइटको विवरण र भ्रमणको दिन गन्ने काउन्टडाउन सहितको आकर्षक विजेट डेस्कटपमै बनाइदिनेछ।

एन्ड्रोइड इकोसिस्टमसँग पूर्ण आबद्धता

गूगलबुक एन्ड्रोइड प्रविधिमा आधारित भएकाले यसले फोन र ल्यापटप बीचको दूरीलाई सून्य बनाउनेछ। यदि तपाईँ ल्यापटपमा काम गर्दागर्दै भोक लाग्यो भने फोनको फुड डेलिभरी एपलाई ल्यापटपकै स्क्रिनमा खोलेर अर्डर गर्न सक्नुहुनेछ। यसमा रहेको ‘क्विक एक्सेस’ फिचरका कारण फोनमा रहेका फाइलहरूलाई कुनै पनि ट्रान्सफर झन्झट बिना सिधै ल्यापटपको फाइल ब्राउजरबाटै हेर्न, सर्च गर्न र प्रयोग गर्न सकिनेछ।

प्रिमियम हार्डवेयर र ‘ग्लोबार’

गुगलले यो नयाँ श्रेणीका ल्यापटपहरूका लागि एसर , एसस , डेल , एचपी र लेनोभो जस्ता विश्वप्रसिद्ध कम्पनीहरूसँग सहकार्य गरेको छ। गूगलबुकहरू प्रिमियम सामाग्री र उत्कृष्ट क्राफ्टम्यानसिपका साथ बजारमा आउनेछन्।

यसको एउटा विशेष पहिचान यसको बाहिरी कभरमा रहने ‘ग्लोबार’ लाइट हुनेछ, जसले एआई सक्रिय रहेको बेला आकर्षक रूपमा बल्नेछ र यो भिजुअल रूपमा मात्र नभई एआई अन्तर्क्रियाका लागि पनि उपयोगी हुनेछ।

यो नयाँ प्रविधिको विस्तृत विवरण र पहिलो गूगलबुक ल्यापटपहरू यसै वर्षको अन्त्यतिर बजारमा उपलब्ध हुनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours