‘भोलि उठी कहाँ जाने केही थाहा छैन’, थापाथली बस्ती तीन दिनदेखि तरंगित छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि सुकुम्बासीलाई बासको चिन्ता थपिएको छ।
राजेन्द्र तिवारी
१२ बैशाख, काठमाडौँ । काठमाडौंको थापाथली वागमती किनारको सुकुम्वासी बस्तीमा वर्षौदेखि बस्दै आएका परिवारहरूका लागि यो साँझ निकै भारी थियो । डोजर चल्नु पूर्वको त्यो अनिश्चितता र डरलाई यी तस्विरहरूले जीवन्त पारेका छन् । थापाथली क्षेत्रको सुकुम्वासी व्यवस्थापन वर्षौंदेखिको जटिल समस्या हो । सरकार र सुकुम्वासीबीचको लडाइँ यसपटक निर्णायक मोडमा पुगेको देखिन्छ । बालबालिकाको स्कुल ब्यागदेखि वृद्धवृद्धाको ओछ्यानसम्म सबै पोको पारिएका छन् ।
पर्खालभित्रका मानिसहरूका लागि यो एउटा सामान्य रात हो, तर वागमती किनारको सुकुम्वासी बस्तीका लागि यो एउटा यस्तो रात हो जसमा धेरैका सपनाहरू, सम्झनाहरू र वर्षौँको संघर्ष बोकेका झुप्राहरू भोलिपल्ट बिहानसम्म रहने हुन् वा हैनन् भन्ने निश्चित छैन । रातको समय ।
थापाथलीको सुकुम्वासी बस्तीमा सामान्य दिनचर्याझैँ देखिने चहलपहलभित्र एउटा गहिरो अनिश्चितता र डर लुकेको छ । बस्ती खाली गर्ने सरकारी निर्णयको पूर्वसन्ध्यामा यहाँका बासिन्दाहरू केवल आफ्नो बासस्थान जोगाउने संघर्षमा छैनन्, उनीहरू आफ्नो अस्तित्वको रक्षाको अन्तिम प्रयास गरिरहेका छन् । टीनका पाताहरूले बनेका घरहरूभित्र पाकिरहेको भान्सा होस् वा बाहिर बालबच्चाको खेल, सबैमा एक किसिमको मौन संशय छ । यो बस्ती केवल संरचना होइन, यो सयौँ मानिसहरूको भोगाइ र संघर्षको साक्षी हो ।
खाना पकाउँदै गरेका हातहरूमा काम्न थालेका छन् र भोलि उठ्दा वरिपरिको वातावरण कस्तो हुनेछ ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भन्ने प्रश्नले सबैको मनमा डेरा जमाएको छ । राज्यको डोजर कहिले आइपुग्ला भन्ने डर सधैँ नै छ, तर यो रात त्यो त्रासको उत्कर्ष हो ।
कतिपय परिवारहरू आफ्नो सामान झोलामा कोचेर बसेका छन्। कतिपय अझै पनि आफ्नो सानो संसारलाई समेट्ने प्रयासमा छन् । बस्तीका गल्लीहरूमा देखिएको यो सन्नाटा केवल रात्रिको होइन, यो विस्थापनको त्रासदीको सन्नाटा हो ।
राज्यले बस्ती खाली गर्ने नाममा के उनीहरूको वर्षौँको दुःख र श्रमलाई वास्ता गरी ’सुकुम्वासी’ को ट्याग लगाइदिँदैमा सबै पीडा अन्त्य हुन्छ ? आजको रात थापाथलीमा केवल केही झुप्राहरू मात्र सुतेका छैनन्, सयौँ मानवीय संवेदना र एउटा ठूलो प्रश्न सुतेको छ— ‘हाम्रो भोलि कहाँ छ, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ ?’
















+ There are no comments
Add yours