२५ चैत, काठमाडौं । पिक्सआर्टले एआई डिजाइन प्लेटफर्मका रूपमा क्रिएटरहरूका लागि कमाइ गर्ने नयाँ कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम सबै क्रिएटरहरूका लागि खुला छ र यसका लागि कुनै निम्तो सूची वा न्यूनतम दर्शक संख्या आवश्यक पर्दैन।
यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पिक्सआर्टका टुल प्रयोग गरेर कुनै विशेष क्याम्पेनका लागि मौलिक सामग्री बनाउन, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न र दर्शकहरूको सहभागिताका आधारमा आम्दानी गर्न सक्नेछन्। कम्पनीका अनुसार यो कार्यक्रम स्केल वा फलोअर सङ्ख्याभन्दा पनि सिर्जनात्मकता र प्रदर्शनलाई प्राथमिकता दिने गरी डिजाइन गरिएको हो।
टेकक्रञ्चका अनुसार क्रिएटर मोनिटाइजेसन कार्यक्रम सुरु गर्दै पिक्सआर्टएउटा सिर्जनात्मक टुलबाट आम्दानी गर्न सकिने प्लेटफर्मतर्फ विकसित हुँदैछ। कम्पनीले यस कदमलाई नयाँ क्रिएटर आकर्षित गर्ने र उनीहरूलाई टिकाइ राख्ने उपायका रूपमा हेरेको छ।
कार्यक्रममा दर्ता भएपछि क्रिएटरहरूले एउटा ड्यासबोर्डमा पहुँच पाउँछन्, जहाँ उनीहरूले सहभागी हुन सक्ने सबै प्रॉम्प्ट र सिर्जनात्मक चुनौतीहरू देखिन्छन्। उदाहरणका लागि, कुनै क्याम्पेनले पिक्सआर्ट औरा प्रयोग गरेर सुन्दर जीवहरू बनाउन आग्रह गर्न सक्छ, जुन प्लेटफर्मको एआई कन्भर्सेसनल सहायक हो र टेक्स्ट वा आवाजमार्फत तस्वीर र भिडियो बनाउन तथा एनिमेट गर्न सक्छ।
पिक्सआर्टका अनुसार केवल एआईबाट तस्वीर बनाएर पोस्ट गर्नु मात्रै पर्याप्त हुँदैन, सिर्जनात्मक प्रयास बिना अर्थपूर्ण सहभागिता वा आम्दानी हुँदैन।
सामग्री तयार भएपछि क्रिएटरहरूले छोटो फारम भरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीको यूआरएल दिनुपर्छ, क्याम्पेनका मापदण्डअनुसार ट्याग गर्नुपर्छ र पिक्सआर्टभित्र कसरी बनाइयो भन्ने छोटो विवरण पनि थप्नुपर्छ। सामग्री सिधै क्रिएटरका आफ्नै इन्स्टाग्राम, टिकटक, यूट्युब र एक्स खातामा सेयर गरिन्छ।
आम्दानी भ्यु, कमेन्ट, सेयर र पहुँचका आधारमा गणना गरिन्छ। क्रिएटरहरूले आफ्नो ड्यासबोर्डबाटै आम्दानी ट्र्याक गर्न सक्छन् र स्ट्राइप मार्फत रकम निकाल्न सक्छन्।
कम्पनीका संस्थापक तथा सीईओ होभानेस आभोयानले वक्तव्यमा भनेका छन्, “हामी सधैं सिर्जनात्मकता सबैका लागि हुनुपर्छ भन्ने विश्वास गर्छौं — अब पुरस्कार पनि सबैका लागि हुनुपर्छ। क्रिएटर अर्थतन्त्रमा संरचनागत समस्या छ, प्लेटफर्महरूले साधारण क्रिएटरलाई सही रूपमा पारिश्रमिक दिएका छैनन्। अर्न विथ पिक्सआर्ट हाम्रो समुदाय बनाउने लाखौं मानिसप्रतिको प्रतिबद्धता हो। यो खुला, संरचित र सरल छ — सामग्री बनाउनुहोस्, राम्रो प्रदर्शन भयो भने कमाउनुहोस्।”
कम्पनीका अनुसार ट्युटोरियल, एस्थेटिक एडिट वा छोटा भिडियो बनाउने सबै प्रकारका क्रिएटरका लागि कमाइका अवसर उपलब्ध छन्।
सन् २०११ मा स्थापना भएको पिक्सआर्टका विश्वभर १३० मिलियनभन्दा बढी प्रयोगकर्ता छन्। सन् २०२१ मा क्रिएटर अर्थतन्त्रको वृद्धि सँगै कम्पनी युनिकर्न बनेको थियो।
क्रिएटर मोनेटाइजेसनतर्फको विस्तार केही हप्ता अघि कम्पनीले एआई एजेन्ट मार्केटप्लेस सुरु गर्ने घोषणा गरेपछि आएको हो, जहाँ क्रिएटरहरूले विभिन्न कामका लागि एआई सहायक “हायर” गर्न सक्नेछन्, जस्तै सामाजिक सामग्री रिसाइज गर्ने, रिमिक्स गर्ने वा Shopify मा उत्पादनका तस्वीर सम्पादन गर्ने।


+ There are no comments
Add yours