पुलिसको जागिर छोड्नेहरूको लर्को : जेन्जी आन्दोलन पश्चात् १००० ले दिए राजीनामा

१४ कार्तिक, काठमाडाैँ । पछिल्ला तीन महिनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् ।

नेपाल प्रहरीका करिब साढे चार सय र एपीएफका साढे पाँच सय अधिकृत तथा जवानले जागिर छाडेका हुन् ।

राजीनामा दिने अधिकांशले ‘घरायसी’ वा ‘व्यक्तिगत’ कारण देखाएका छन् ।

जेन–जी आन्दोलनपछिको मनोवैज्ञानिक असर र संगठनप्रतिको असन्तुष्टिले पनि राजीनामाको दर बढाएको अधिकारीहरू बताउँछन् ।

आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमण, हतियार लुटपाट र सहकर्मीको मृत्युले मनोबल खस्किएको उनीहरूको भनाइ छ ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार दैनिक रूपमा राजीनामा आइरहेको छ । ‘अधिकांश तल्लो तहका हुन्,’ उनले भने ।

साउनयता मात्र ९० जनाले उपदानसहित र साढे ३ सय जनाले पेन्सनसहित राजीनामा दिएका छन् ।

सशस्त्र प्रहरीमा पनि असोज महिनामा २८५ जनाले पेन्सन र १८ जनाले उपदानसहित सेवा छोडेका छन् ।

२० वर्ष सेवा पुगेकाले पेन्सन पाउँछन् ।

तर, २०६० चैतअघि प्रवेश गरेका र त्यसपछि प्रवेश गरेका सुरक्षाकर्मीबीच पेन्सन अवधि फरक–फरक हुँदा तल्लो तहमा असन्तुष्टि बढेको छ ।

यस विषयमा कानुन संशोधन प्रक्रिया प्रतिनिधिसभा विघटनसँगै रोकिएको छ ।

सुरक्षा निकायका अधिकारीका अनुसार वैकल्पिक रोजगारी, पारिवारिक अवस्था र वैदेशिक रोजगारीको आकांक्षाले पनि पलायन बढाएको छ ।

एक सुरक्षाकर्मीलाई तालिम र फिल्डमा पठाउन ५–७ लाख रुपैयाँसम्म खर्च हुने भएकाले बीचमै जागिर छोड्दा राज्यलाई आर्थिक नोक्सान पुगेको उनीहरूको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours