आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

शंखधर साःख्वाको योगदानमा नेवार समुदायले मनाउँदै

०५ कार्तिक, काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार, लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को रूपमा चलेको थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। यो संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गर्छन्।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा काठमाडौँमा अझै पनि प्रचलनमा छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours