१५ भदाै, काठमाडौँ । भदौ ८ गतेसम्म मुलुकभर ९४ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
यो परिमाण गत वर्षको सोही अवधिको दाँजोमा ३ प्रतिशतभन्दा कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ ८ गतेसम्म ९४.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष भदौ ७ सम्ममा ९८.५४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
मन्त्रालयका अनुसार धान रोपाइँ हुने कुल १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रफलमध्ये भदौ ८ गतेसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा धान रोपाइँ भएको छ ।
प्रदेशगतरुपमा हेर्दा कोशीमा भदौ ८ गतेसम्म ९७.२४ प्रतिशत रोपाइँ भएको छ । कोशीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये २ लाख ६८ हजार ७६५ हेक्टरमा रोपाइँ सकिएको छ ।
त्यसैगरी मधेश प्रदेशमा सोही समयमा ८६.३५ प्रतिशत रोपाइँ भएको छ । मधेशमा धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ३ लाख १९ हजार ६२६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
बागमती प्रदेशमा ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १ लाख १२ हजार ४५९ हेक्टरमा रोपाइँ सकिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा ९६.६३ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९१ हजार ७ हेक्टरमा रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा ९८.३७ प्रतिशत धान रोपाइँ भएको छ । लुम्बिनीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये २ लाख ९८ हजार ११ हेक्टरमा रोपाइँ सकिएको छ ।
यसैगरी, कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ४० हजार ७७० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।


+ There are no comments
Add yours