०१ भदाै, लन्डन । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ले लन्डनको ऐतिहासिक वेम्बली रंगशालामा सांगीतिक प्रस्तुति दिँदै इतिहास रचेको छ । दक्षिण कोरियाली गल्र्स ब्यान्डका सदस्यहरू जिसु, जेनी, रोजे र लिसाले उक्त थलोमा साढे २ घण्टा प्रस्तुति दिए ।
यो प्रस्तुतिसँगै ‘ब्ल्याकपिंक’ माइकल ज्याक्सन, टेलर स्विफ्ट, बीटीएस र ओएसिस जस्ता स्टारहरूको सूचीमा सामेल हुँदै प्रसिद्ध स्थलमा प्रस्तुति दिने पहिलो के–पप गर्ल ब्यान्ड बन्यो ।
‘ब्ल्याकपिंक’ले आकर्षक गीत र नृत्य स्टेपले भरिएको ऊर्जावान प्रस्तुतिले प्रशंसकलाई उत्साहित बनायो । दर्शकले उनीहरूको प्रस्तुतिमा घनिष्टता महसुस गरे ।
लिसाले वेम्बली रंगशालामा प्रस्तुति दिन पाउनुलाई ‘पूर्ण सम्मान’ भनेकी छन् । उपस्थित ७० हजार प्रशंसकलाई कार्यक्रम समर्पित गर्दै उनले भनिन्, ‘यहाँ आएर यो सम्भव बनाएकोमा हामी तपाईंहरू सबैप्रति अचम्मित छौं ।’
जेनीले यो क्षणलाई ‘एउटा भव्य सपना’को रूपमा वर्णन गरिन्, जसलाई उनी अवास्तविक ठान्छिन् । रोजेले उनीहरूको अन्तिम लन्डन शो अविश्वसनीय तर एकदमै फरक स्तरको रहेको बताइन् ।
यो कन्सर्ट वेम्बली स्टेडियममा भएका दुई कार्यक्रमहरू मध्ये पहिलो थियो र ब्ल्याकपिंकको बहुचर्चित ‘डेडलाइन टूर’को युरोपेली चरणको अन्त्य थियो, जसमा विश्वभरका १६ सहरमा ३१ प्रस्तुति समावेश छन् ।
यसैसाता नेपाली ब्याण्ड नेपथ्यले वेम्बली स्टेडियम नजिकै रहेको वेम्बली एरिनामा भव्य प्रस्तुति दिएर इतिहास रचेको थियो ।




+ There are no comments
Add yours