१८ साउन, काठमाडौँ । नेपालको बैंकिङ्ग क्षेत्रमा एकै दिनमा निक्षेप संकलन ५ अर्बले घटेको छ भने कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको छ । यद्यपि राष्ट्र बैंकले बजारमा अधिक तरलता रहेको र यसले गर्दा आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।
गत मंगलबारको तुलनामा बुधबार निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेर ७२ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा ४ अर्ब रुपैयाँको गिरावट आउँदा अन्य वित्तीय संस्थाहरुको निक्षेप संकलनमा १ अर्ब रुपैयाँले कमि आएको छ ।
अर्काेतर्फ कर्जा प्रवाह भने मंगलबारको तुलनामा १ अर्ब रुपैयाँले बढेर ५५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । यो वृद्धि पूर्णतः वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा भएको हो भने अन्य वित्तीय संस्थाहरुको कर्जा प्रवाह स्थिर रहेको छ ।
निक्षेप घट्दा र कर्जा प्रवाह सामान्य बढ्दा बैंकिङ्ग प्रणालीको कर्जा निक्षेप अनुपात थोरै बढेर ७६.०३ प्रतिशत पुगेको छ । अघिल्लो दिन यो अनुपात ७५.९८ प्रतिशत थियो ।
यसबिच बैंक तथा वित्तीय संस्थाहरुको भारित औषत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर रहेको छ ।
निक्षेपमा सामान्य गिरावट र कर्जामा सामान्य वृद्धि हुँदा पनि समग्र प्रणालीमा तरलताको अवस्था सहज रहेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए । उनले भने, “बजारमा तरलता पर्याप्त छ, डराउनुपर्ने अवस्था छैन ।”
पछिल्लो समय कर्जाको मागभन्दा निक्षेप संकलन बढी हुँदा प्रणालीमा अधिक तरलताकको अवस्था रहेको थियो । यहि अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बजारमा निक्षेप संकलन जस्ता मौद्रिक उपकरणहरु प्रयोग गर्दै आएको छ ।
प्रवक्ताका अनुसार १÷२ दिनको तथ्यांकले समग्र प्रणालीको अवस्थालाई संकेत गर्दैन । हाल अन्तरबैंक ब्याजदर पनि सहज अवस्थामा छ । जसले प्रणालीमा पर्याप्त तरलता रहेको देखाँउछ । राष्ट्र बैंकले बजारको अवस्था हेरेर तरलता व्यवस्थापनको काम गर्दै आएको छ ।
समग्रमा हेर्दा अर्थतन्त्र पनि विस्तारै लयमा फर्किदै गएको छ । यसका साथै चालु आर्थिक वर्षको मौद्रिक नीति पछि आम मानिसहरुमा विश्वास पनि बढेको देखिन्छ, त्यसले गर्दा पनि कर्जा प्रवाह बढेको हुन सक्छ । राष्ट्र बैंकले अहिले सम्ममा करिब ६ खर्ब रुपैयाँ जति प्रशोचन गरेर राखेको प्रवक्ता पण्डितले बताए ।
तसर्थ दैनिक उतारचढाव आएपनि बैंकिङ्ग प्रणालीको समग्र स्वास्थ्य राम्रो रहेको र तरलताको अभाव नभएको राष्ट्र बैंकले जनाएको छ ।


+ There are no comments
Add yours