०७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको उपस्थितिविनै तेस्रो पार्टी स्थापना दिवस मनाउँदैछ ।
असार ७ गते (आज) रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने भएको हाे ।
पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा भएकाले उनी उपस्थित रहने छैनन् । विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।
अहिले पुर्पक्षमै रहेर उनले काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् । अहिले सिङ्गो पार्टी नै सभापति रविको रिहाइको लागि लड्दा पार्टीको राजनीतिक र सांगठनिक काम प्रभावित भएको छ । यद्यपि रास्वपाका नेताहरूले रविमाथि सत्ता र शक्तिको आडमा षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले राजनीतिक प्रतिशोधमा नपरेको भए तीन वर्षमा पार्टी निकै अगाडि जाने जिकिर गरे ।
‘राजनीतिक प्रतिशोधहरूमा नपरेको भए, नअल्झिएको भए पक्कै पनि हामी योभन्दा धेरै अगाडि पुग्थ्यौँ । यसबिचमा उतारचढाव धेरै, राजनीतिक प्रतिशोध, सहकारीको केसमा भएको घेराबन्दी, यो सबै कुरामा हामी अल्झियौँ । नियमित रूपमा राजनीतिक अभ्यास गर्न पाएको भए अर्को छलाङ मारिन्थ्यो होला’, उनले भने ।
तेस्रो पार्टी स्थापना दिवसको अवसरमा नेतृत्वको अनुपस्थितिले दुःख लागेको झाले बताए । दुई–दुई पटक सरकारमा जानु गल्ती भएको झाले स्वीकारे तर सत्ता गलत नभए पनि सङ्गत गलत भएको उनको निष्कर्ष छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेतृत्वबाट कुनै बदमासी भएको आफूलाई विश्वास नलागेको जिकिर गरे । राजनीतिक प्रतिशोध र षड्यन्त्रको सिकार रवि बनेको उनले बताए ।
‘त्यो सत्ता गलत थिएन, सङ्गत गलत थियो किनकि राजनीतिमा भएपछि डेलिभर गर्न जानैपर्छ । सदनमा भएपछि कानुन बनाउनैपर्छ । लोकल लेभलमा भएपछि डेभलपमेन्टका मुद्दाहरू उठाउनैपर्छ । ढल, नाला, धुलो, सरसफाइको मुद्दा स्थानीयले उठाएजस्तै हामीले कानुनका मुद्दाहरू उठाउनैपर्छ,’ उनले भने, ‘त्यसैले सत्तामा पुगपछि आफूले सम्हालेका मन्त्रालयबाट जनतालाई डेलिभरी दिन सकिन्छ कि भनेर हामी सरकारमा गएका हौँ ।’
सहकारी ठगीमा नेतृत्व संलग्न भएजस्तो आफूलाई नलागेको झाले जिकिर गरे । राजनीतिक प्रतिशोधबाट मुद्दा लगाइए पनि अदालतले न्याय दिनेमा विश्वास रहेको उनले बताए ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेतृत्वबाट कुनै बदमासी भएको आफूलाई विश्वास नलागेको जिकिर गरे । राजनीतिक प्रतिशोध र षड्यन्त्रको सिकार रवि बनेको उनले बताए ।
‘नयाँ कुराप्रति सन्देह गर्ने, शंका गर्ने, डराउने, नस्वीकार्ने आम प्रवृत्ति रहेछ । त्यसको सिकार रास्वपा बन्यो । त्यही क्रममा विशेषगरी पार्टी सभापतिमाथि ठुलो षड्यन्त्र र राजनीतिक प्रतिशोध साँधियो । त्यही आरोपमा अहिले पुर्पक्षमा हुनुहुन्छ’, उनले भने, ‘त्यो आरोप प्रमाणित हुँदैन । प्रमाणित नहुने आरोप सत्ता र शक्तिको बलमा लगाइएको छ ।’
रास्वपा पनि पुराना दलजस्तै भयो कि भन्ने विषयमा अहिले नै विश्लेषण गर्न हतार हुने परियारले बताए । ‘रास्वपा पनि अन्य पुराना पार्टीजस्तै भयो कि भनेर आजै विश्लेषण भयो भने एउटा उदाउँदै गरेको वा आउँदै गरेको पछिल्लो पुस्ताको राजनीतिक अभियानमाथि न्याय हुँदैन । यसो भन्दैमा हामी विछट्टै अलौकिक छौँ भन्न खोजेको होइन,’ उनले भने ।
रास्वपा लोकतन्त्र, सुशासनमा प्रतिबद्ध रहेको र जवाफदेहितामा विश्वास गर्ने भएकाले कानुनी शासन अरुलेभन्दा बढी विश्वास गर्नुपर्छ भन्ने मान्यतामा रहेको उनले प्रस्ट पारे ।

पार्टी स्थापनाको तीन वर्ष, कति सफल ?
रास्वापा नेताहरूले पार्टी स्थापनाको तीन वर्ष सोचेअनुसार काम नभए पनि राजनीतिक अभियानका रूपमा पुराना दलहरूलाई रुपान्तरण गर्न बाध्य भएको झा र परियारले दाबी गरेका छन् ।
पछिल्लो समय भएका नीतिगत सुधार र सुशासनको पक्षमा जे–जति काम भए त्यो रास्वपाको उपलब्धि भएको परियारको जिकिर छ । आम जनताको मायाले पार्टी स्थापना भएको ६ महिनामै चौथो ठुलो पार्टी बन्न सफल भयो । यस पछाडि हामीले उठाएका मुद्दा, सरकारमा रहँदा सुशासनको पक्षमा उठाएका कारणले अहिले जुन खालको बहस र पैरवी भइराखेको छ । रास्वपाको भूमिका मुख्य रह्यो’, उनले भने ।
आज सुशासनसम्बन्धी भइरहेका बहस, छलफल र नीतिगत सुधार रास्वपाकै उपस्थितिका कारण सम्भव भएको परियारको दाबी छ । ‘सरकारले जसरी भ्रष्टाचार विरोधी अभियान चलाउँछु, शून्य सहनशीलता अपनाउँछु भनिरहेको छ, त्यो रास्वपाको उपस्थिति पछाडि भएको हो । अहिले कार्यान्वयनको चरणमा गएको छ,’ उनले भने ।
परियारका अनुसार व्यवस्था सँगसँगै आम मानिसको अवस्था परिवर्तन गर्नुपर्छ भनेर समृद्धि, विकास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरा नागरिकले सहजै पाउनुपर्छ भन्ने अभियानसहित रास्वपा स्थापना भएको हो ।
कार्यवाहक प्रवक्ता झाले पुराना दलहरूभित्र नेतृत्व हस्तान्तरणको कुरा उठ्नु नै रास्वपाको उपस्थिति बलियो भएको रूपमा बुझ्नुपर्ने प्रतिक्रिया दिए ।
‘नेपाली कांग्रेस, नेकपा माओवादी, एमाले, मधेसवादी दलहरूभित्र नेतृत्व हस्तान्तरण, सत्ता हस्तान्तरण र नेतृत्वमा सुशासन केन्द्रित नेतृत्व हुनुपर्छ भनेर जसरी बहस भइराखेको छ, आफैँले बनाएको ७० वर्षे उमेर हदको नीति लागु किन भएन भनेर एमालेका ईश्वर पोखरेलले आवाज उठाउनुभयो’, उनले भने, ‘यसरी राजनीति हुँदैन, अब सुधारिएको गर्नुपर्छ भनेर पूर्वराष्ट्रपति पनि, पूर्वउपराष्ट्रपति पनि सबै राजनीतिमा आउनुभयो । यो सबै कुरा पनि हाम्रो उत्पादन हो ।’
मुद्दा मामिलामै बित्यो रविको तीन वर्ष
एक दशक लामो सञ्चारकर्म छोडेर रविले २०७९ असार ७ गते तामझामका साथ आफ्नै नेतृत्वमा रास्वपा गठन गरेका थिए । सुरुमा २५ सदस्यीय केन्द्रीय समिति गठन गरेका रविले अहिले ५९ जनाको समिति बनाएका छन् । त्यतिबेला उनले देशको राजनीति नै हिलो मैलोले दुर्गन्धित भएकाले फोहोर सफा गर्न राजनीतिमा आएको दाबी गरेका थिए ।
‘यहाँ कति फोहोर छ ? कति हिलो छ ? मलाई थाहा छ । केही समय हिलो लागेको त्यो फोहोरी र म सफा गर्न गएको मान्छे उस्तै देखिन सक्छ । तपाईं नझुक्किनुहोला । म सफा गर्न गएको मान्छे र त्यो गन्हाएको मान्छे एउटै नठान्नुहोला,’ रविले पार्टी घोषणा सभामा भनेका थिए । प्रश्न सोध्ने सजिलो काम छोडेर जबाफ दिने कठिन काममा आफू आएको उनको जिकिर थियो ।
नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका रवि तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गएका छन् । खासमा अदालती झमेलाबाटै राजनीतिमा आएका व्यक्ति हुन् उनी ।
न्यूज २४ टेलिभिजनबाट ‘सिधा कुरा जनतासँग’ लोकप्रिय कार्यक्रम प्रस्तोताको छवि बनाएका रवि सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा २०७६ साउन ३० गते पक्राउ परे । त्यसवेला ११ दिन चितवन प्रहरीको हिरासतमा बसेर उनी धरौटीमा रिहा भएका थिए ।
पार्टी स्थापना गरेको ६ महिनामै आम निर्वाचनमा होमिएको रास्वपाले देशभर ११ लाख ३० हजार मत ल्याएर पुराना दलहरूलाई चुनौती दियो । रविले चितवन–२ बाट ४९ हजार ३०० लोकप्रिय मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री उमेश श्रेष्ठ ३४ हजार ३१२ मतान्तरले पराजित भएका थिए ।
रविले २०७६ माघ ५ गते अदालतबाट सफाइ पाएका थिए । यही प्रकरणले उनलै राजनीतिमा आउन झनै प्रेरित गरेको रविको अभिव्यक्तिबाट झल्किन्थ्यो । त्यतिवेला देश–विदेशबाट आफ्नो पक्षमा देखाइएको माया, सदभावका कारण हौसिएका उनले चितवनको नारायणी किनारमा विशाल सभा गरी राजनीतिमा आउने संकेत दिएका थिए ।
यद्यपि आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाए पनि दोहोरो राहदानी र नागरिकता लिएको विषयमा उनीमाथि प्रश्नैप्रश्न उठेको थियो । यी तमाम प्रश्नलाई मिडिया र भिडको आडमा रविले बेवास्ता गर्दै गए । २०७७ साल पुसमा न्यूज २४ टेलिभिजन छोडेका उनले फागुन ११ गते जीबी राईसँग मिलेर ग्यालेक्सी फोर के टेलिभिजन खोलेका थिए । ग्यालेक्सी टेलिभिजनमा १६ महिना काम गरेर उनले छोडेका थिए ।
पार्टी स्थापना गरेको ६ महिनामै आम निर्वाचनमा होमिएको रास्वपाले देशभर ११ लाख ३० हजार मत ल्याएर पुराना दलहरूलाई चुनौती दियो । रविले चितवन–२ बाट ४९ हजार ३०० लोकप्रिय मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री उमेश श्रेष्ठ ३४ हजार ३१२ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले १४ हजार ९८८ मत पाउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जित्यो । रास्वपाको अस्वाभाविक मत र सिट प्राप्ति पुराना दलहरूलाई ठुलो धक्का थियो । तेस्रो स्थानमा रहेको माओवादी झन्डै चौथो स्थानमा पुगेको थियो । निर्वाचन लगत्तै २०७९ पुस १० गते प्रचण्ड नेतृत्वको सरकारमा चार मन्त्रीको नेतृत्व गर्दै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा गएका थिए । तर दोहोरो नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि माघ १३ गते उनी पदमुक्त भए ।
अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता प्राप्तिका लागि प्रक्रिया नमिलेको सर्वोच्चको फैसलाका कारण उनले पार्टी र सरकारको पद गुमाएका थिए ।
नागरिकता सम्बन्धी प्रक्रिया पूरा गरेपछि चितवन–२ मा २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा रवि फेरि उम्मेदवार बने । उनी पहिलेको तुलनामा लोकप्रिय मत बढाउँदै ५४ हजार २७६ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।
लोकप्रिय मतको आधारमा अबको वैकल्पिक शक्ति रास्वपा नै नभएको रास्वपाले निष्कर्ष निकालेको थियो । १३ महिनापछि रवि पुरानै हैसियतमा २०८० फागुन २१ गते सरकारमा सहभागी भए । त्यतिवेला रास्वपाले महत्त्वपूर्ण चार वटा मन्त्रालय पाएको थियो ।
नागरिकतासम्बन्धी मुद्दा किनारा लागे पनि रविको टाउकोमाथि दोहोरो राहदानीसम्बन्धी कसुरमा अदालतमा फेरि मुद्दा पर्ने स्थिति बन्यो । तर राहदानीसम्बन्धी कसुरमा अदालतमा मुद्दा अभियोजन नहुने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरी फाइल बन्द गरिदिएपछि रविलाई राहत मिलेको थियो ।
तर सहकारी ठगी प्रकरणमा रविसमेत संलग्न रहेको आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित तत्कालीन प्रमुख प्रतिपक्ष दल कांग्रेसले २०८० फागुनको अन्तिमबाट लगातार संसद् अवरुद्ध गर्यो । अन्ततः सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन भयो ।
उक्त समितिले चार वटा सहकारीबाट बचत रकम हिनामिना गरी ६७ करोड रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको प्रतिवेदन सभामुखलाई बुझाएको थियो । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको टेलिभिजनमा रवि प्रबन्ध निर्देशक, जीबी राई अध्यक्ष र छविलाल बञ्जाडे उपाध्यक्ष थिए ।
निर्वाचन पश्चात दुई पटक महत्त्वपूर्ण मन्त्रालय लिएर प्रचण्ड सरकारमा सहभागी भएको रास्वपा अहिले आफूलाई वैकल्पिक शक्ति भएको पुष्टि गर्न सकस झेलिरहेको छ । रास्वपाले पार्टी स्थापनाको तीन वर्षसम्म पनि महाधिवेशन गर्न सकेको छैन ।
सोही संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई प्रहरीले २०८१ कात्तिक २ गते पक्राउ गरी हिरासतमा राखेको थियो । कास्की, चितवन, रुपन्देही, काठमाडौँ अदालतको आदेशमा धरौटी रकम बुझाए रिहा भएका उनलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।
उच्च अदालतको आदेश बदर गर्न सर्वोच्च अदालतमा पुनरावेदन गरे पनि उनको पक्षमा आदेश आएन । अहिले सहकारी ठगी मुद्दामा रवि र बञ्जाडे जेलमा छन् भने राई फरार छन् ।
निर्वाचन पश्चात दुई पटक महत्त्वपूर्ण मन्त्रालय लिएर प्रचण्ड सरकारमा सहभागी भएको रास्वपा अहिले आफूलाई वैकल्पिक शक्ति भएको पुष्टि गर्न सकस झेलिरहेको छ । रास्वपाले पार्टी स्थापनाको तीन वर्षसम्म पनि महाधिवेशन गर्न सकेको छैन ।
पार्टी स्थापनाकालमा संस्थापक भूमिका खेलेका पूर्वमहामन्त्री डा. मुकुल ढकाल पार्टीबाट निष्कासित भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुसबापत मोटो रकम मागेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पार्टीबाट निष्कासन भइसकेका छन् । रविका विश्वासपात्र भनिएका केन्द्रीय सदस्य मोहनबहादुर थापामाथि रकम लेनदेन आरोपमा कारबाही भइसकेको छ । फौजदारी अभियोगका कारण रविको संसद पद निलम्बन हुँदासमेत रास्वपाले संसदीय दलको नेता र पार्टी सभापति पदमा अरुलाई जिम्मेवारी नदिएकोमा प्रश्न उठेको छ ।
यसअघि वैशाखमा गर्ने भनिएको प्रथम महाधिवेशन रविमाथिको मुद्दाका कारण आगामी कात्तिकमा गर्ने निर्णय भएको छ । रवि अहिले पुर्पक्षमा रहेकाले नेतृत्वविहीन भएको रास्वपा आगामी दिनमा कसरी अगाडि बढ्छ भन्नेमा अन्योल देखिन्छ ।


+ There are no comments
Add yours