Advertisement

गण्डकीमा मन्त्रिपरिषद विस्तार हुँदै

0 560

Advertisement

०२ साउन, गण्डकी । गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १ असारमा पोखरेलले ल्याएको बजेट बुधबार गण्डकी प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।बजेट पारित नहुँदासम्म पोखरेल पर्ख र हेरको मनस्थितिमा थिए । पोखरेलको पार्टी नेपाली कांग्रेससँग् सत्ता साझेदार दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग भागबन्डामा कुरा मिलाउन पनि बाँकी थियो । बजेट पारित नभए सरकार ढल्न सक्ने हुँदा पहिला सरकार जोगाएर पोखरेल मन्त्रिपरिषदलाई पूर्णता दिन चाहन्थे । अब त्यो खड्को टरेको छ ।

‘आज पनि एकचरणको बैठक बस्यो हाम्रो,’ सरकारका प्रवक्तासमेत रहका सामाजिक विकास मन्त्री कुमार खड्काले भने, ‘छलफल गरेर पर्सि फेरि एउटा बैठक बसेर छिटोभन्दा छिटो टुंग्याउने भन्ने मनस्थितिमा मुख्यमन्त्रीज्यू हुनुहुन्छ । धेरै कुरा मिल्या छ, एउटा कुरा सानो कुरा टुंगिनेबित्तिकै सबै कुरा टुंगिन्छ ।’ उनले साउनको पहिला साताभित्र मन्त्रिपरिषद पूर्णतालाई टुंग्याइने बताए ।

मन्त्रिपरिषद १२ सदस्यीय बन्ने जानकारी पनि मन्त्री खड्काले दिए । नेपालको संविधानले प्रदेश सभाका २० प्रतिशत सदस्यलाई मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय हो । त्यस हिसाबले १२ जना मन्त्री बनाउन मिल्छ । यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङले सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । पछि उनले मन्त्रालय फुटाएर ११ वटा मन्त्रालय बनाए । तर कार्यकालको अन्तिमतिर स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाउनुबाहेक ११ जना नै पु¥याएनन् ।

अहिले पोखरेल नेतृत्व मन्त्रिपरिषदमा केवल ५ सदस्य छन् । मुख्यमन्त्री पोखरेलले जेठ २९ मा सपथ लिँदा कांग्रेसबाट कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य एवं स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको सपथ गराएका थिए । १३ असारमा मात्रै खड्कालाई सामाजिक र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । आचार्यले ऊर्जा तथा सिँचाइ र गुरुङले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी …पाएका थिए ।

मुख्य सत्ता साझेदार कांग्रेस र माओवादीले ४÷४ मन्त्री लिने समझदारी गरेका छन् । तर को को मन्त्री बन्ने भन्ने टुंगो प्रदेशबाटै लगाउन सकेका छैनन् । दुवै पार्टीले आफ्नो पार्टी केन्द्रलाई नामको टुंगो लगाइदिन गुहारेका छन् । केन्द्रीय राजनीतिमा सत्ता हेरफेर भएको हुँदा प्रदेशमा नाम टुंगो लगाउन दुवै पार्टी केन्द्रलाई पनि केही दिन लाग्ने देखिएको छ । माओवादी सांसद दीपक कोइराला पनि केन्द्रले नै टुंगो लगाउने प्रतीक्षामा रहेको बताउँछन् । उनी साउन पहिलो साता मन्त्रिपरिषदले पूर्णता पाउने विश्वासमा छन् । कुनकुन मन्त्रालय माओवादी र कुन कुन कांग्रेसले लिने भन्नेबारे यकीन भइनसकेको कोइरालाले जानकारी दिए । कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडी पनि छलफल जारी नै रहेको र केही दिनमा टुंगो लाग्ने बताउँछन् ।

२ जनामात्रै सांसद रहेको जनता समाजवादीकी धनमाया लामा पनि मन्त्री बन्ने पक्का छ । ४ असारमा विश्वासको मत लिनुअघि मुख्यमन्त्री पोखरेलले जसपाका २ जनालाई मन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा २ मध्ये १जनालाई अर्थ मन्त्रालय दिने भन्ने पनि थियो । त्यही सहमतिका आधारमा आचार्यले धेरैदिनसम्म बार्गेनिङ गरेका थिए । तर, केन्द्रीय नेता बाबुराम भट्टराईको दबाबपछि उनी ऊर्जा तथा सिँचाइ मन्त्री बन्न मञ्जुर भएका हुन् ।

कांग्रेस र माओवादीका सबैजसो सांसद मन्त्रीको आकांक्षी हुँदा मुख्यमन्त्रीले टुंगो लगाउन नसकेका हुन् । त्यसपछि नै मन्त्रीको सूची टुंगो लगाइदिन केन्द्र गुहारिएको हो । गण्डकी प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जसपाका २, जनमोर्चाका २ (एकजना बर्खास्त भएकाले) र १ स्वतन्त्र सांसद छन् । एमाले २७ सदस्यीय प्रतिपक्ष दल हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.