चाडबाडमा इन्धन र ग्यासको कृत्रिम अभाव रोक्न झापामा अनुगमन तीव्र

२८ असाेज, झापा। चाडबाडका समयमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा जिल्ला प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनलाई तीव्र पारेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। जिल्लामा इन्धनको समग्र आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उनले उपभोक्तालाई सहजरूपमा ग्यास तथा पेट्रोलियम पदार्थ उपलब्ध गराउन समन्वयका साथ काम गर्न जोड दिए।

नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलले झापामा पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको स्पष्ट पारेका छन्। झापामा दैनिक ५ हजार ५०० सिलिन्डर ग्यासको माग रहेकामा हाल दैनिक ७ हजार ६०० सिलिन्डर उत्पादन भइरहेको पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा पठाइएको छ।

चाडबाडमा इन्धनको नियमित र सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मङ्गलबार जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षा निकाय, आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधिहरूबिच छलफल सम्पन्न भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours