२८ असाेज, काठमाडौँ । केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्।
यस क्रममा काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ हप्तामै झन्डै न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस घटिसकेको छ।
आज (बुधबार) बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
‘यही अक्टोबार १ तारिख काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस थियो’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसयता १८, १७, १६, १५ हुँदै अहिले १४ मा झरिसक्यो।’
आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको तापक्रम सुरुवाती मापनमा देखिएभन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
यस्तो छ मंगलबारको तापक्रम विवरण
देशभर पश्चिमी वायु फैलिएसँगै चिसो बढ्दै गएको हो। मौसम महाशाखाका अनुसार अहिले देशमा पश्चिमी र मनसुनी दुवैथरी वायुको प्रभाव छ। यद्यपि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पूरै भागबाट मनसुन हटिसकेको छ भने लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै ठाउँबाट पनि मनसुन बाहिरिसकेको छ।
देशका बाँकी स्थानमा मात्र मनसुन छ। अब चाँडै पूरै देशबाट मनसुन बाहिरिने मौसमविद्ले बताएका छन्।
मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट-मनसुन सिजन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। यो सकिएपछि डिसेम्बरदेखि नेपालमा विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।
विन्टरको अन्त्यपछि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। त्यसपछि फेरि मनसुन प्रवेश गर्छ।
मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।
ह्वात्तै घट्यो वर्षा
मनसुन कमजोर भएसँगै देशभर पानी पर्ने क्रम ह्वात्तै घटेको छ।
आज पनि देशका धेरैजसो स्थानमा घाम लाग्ने सम्भावना देखिएको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।
यस क्रममा उनले भने, ‘काठमाडौँ उपत्यकामा पनि आज पानी पर्ने संकेत देखिएको छैन।’
आजका लागि यस्तो छ मौसम प्रक्षेपण
२०८३ असोज २८ गते (बुधबार)
दिउँसो : देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : देशको हिमाली भेगको आकाशमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
एक-दुई स्थान भनेको सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभाग हो।


+ There are no comments
Add yours