मिडियाटेकले सार्वजनिक गर्यो टीएसएमसीको सबैभन्दा उन्नत प्रविधि प्रयोग गरिएको नयाँ मोबाइल चिप

३१ भदाै, काठमाडाैँ । ताइवानको मिडियाटेकले मंगलबार टीएसएमसीको सबैभन्दा उन्नत उत्पादन प्रविधि प्रयोग गरेर बनाइएको नयाँ स्मार्टफोन चिप सार्वजनिक गरेको छ।

कम्पनीले डिभाइसमा नै थप एआई सुविधा चलाउन सक्ने सेमिकन्डक्टरमार्फत प्रिमियम स्मार्टफोन बजारमा आफ्नो स्थान बलियो बनाउने लक्ष्य राखेको छ।

यो कदम प्रिमियम फोन बजारमा अमेरिकी प्रतिस्पर्धी क्वालकमसँगको प्रतिस्पर्धामा अघि बढ्ने मिडियाटेकको व्यापक प्रयासको हिस्सा हो। महँगा डिभाइस र एआई सुविधाले चिप निर्माता कम्पनीलाई बढी नाफा दिने भएकाले यो बजार महत्वपूर्ण मानिन्छ।

मिडियाटेकका अनुसार डाइमेन्सिटी ९६०० प्रो ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को अत्याधुनिक २ नानोमिटर प्रक्रियाबाट बनाइएको उसको पहिलो मोबाइल प्रोसेसर हो।

कम्पनीले डाइमेन्सिटी ९६००एम पनि सार्वजनिक गरेको छ, जुन टीएसएमसीको ३ नानोमिटर प्रक्रियाबाट बनेको हो र फ्ल्यागशिप स्मार्टफोन बजारको फराकिलो वर्गलाई लक्षित गरिएको छ।

यी दुई चिपबाट चल्ने पहिलो स्मार्टफोन चाँडै सार्वजनिक हुने कम्पनीले जनाएको छ। यसअघि मिडियाटेकले साओमी, ओप्पो र भीभो जस्ता चिनियाँ स्मार्टफोन निर्माता कम्पनीलाई चिप उपलब्ध गराउँदै आएको छ।

रोयटर्सका अनुसार ९६०० प्रोमा न्युरल प्रोसेसिङ युनिट (एनपीयू) भनिने छुट्टै एआई प्रोसेसर राखिएको छ। मिडियाटेकका अनुसार यसले फोनमै अझ जटिल जेनेरेटिभ एआई एप्लिकेसन चलाउन सक्छ।

कम्पनीले थप विवरण नदिई, एआई मोडलले जवाफ तयार गर्न सुरु गर्नुअघि प्रयोगकर्ताको प्रम्प्ट प्रशोधन गर्ने क्षमतामा नयाँ एनपीयूले अघिल्लो पुस्ताको तुलनामा ५१ प्रतिशत सुधार गरेको जनाएको छ।

यस वर्षको सुरुवातमा मिडियाटेकको बजार मूल्य क्वालकमको भन्दा माथि पुगेको थियो।

बढ्दो मूल्य

मिडियाटेकका कर्पोरेट वरिष्ठ उपाध्यक्ष जेसी सुले एआईको बढ्दो प्रयोगले आपूर्ति शृंखलामा दबाब बढाइरहेका बेला कम्पोनेन्टको बढ्दो लागतको असर उपभोक्तामा कम पार्ने उपायबारे कम्पनीले स्मार्टफोन निर्माताहरूसँग काम गरिरहेको बताए।

यद्यपि, उन्नत हार्डवेयर र नयाँ एआई सुविधाका कारण स्मार्टफोनको मूल्य बढ्दै गइरहेका बेला मिडियाटेकका लागि अवसर रहेको सुले बताए।

“समग्र बजार उच्च मूल्यतर्फ अघि बढिरहेका बेला फ्ल्यागशिप खण्डमा आफ्नो हिस्सा बढाउने हाम्रो अझै पनि अवसर रहेको म विश्वास गर्छु,” सुले भने।

गत साता सार्वजनिक गरिएको एप्पलको नयाँ फोल्डेबल आईफोनको अमेरिकामा सबैभन्दा बढी स्टोरेज भएको मोडलको मूल्य ३,१९९ डलरसम्म पर्नेछ।

मिडियाटेकको एआई व्यवसाय तीव्र विस्तार हुँदै

विश्वका ठूला स्मार्टफोन चिप डिजाइनरमध्ये एक मिडियाटेकले एआई व्यवसायलाई डाटा सेन्टर र कस्टम चिप उत्पादनतर्फ पनि विस्तार गरिरहेको छ। प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा अर्बौँ डलर लगानी गरिरहेका बेला मिडियाटेकले पनि यस क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरिरहेको हो।

ठूलो अमेरिकी क्लाउड सेवा प्रदायकका लागि डिजाइन गरिएको मिडियाटेकको पहिलो एआई एक्सेलेरेटर यो वर्षको चौथो त्रैमासिकमा ठूलो परिमाणमा उत्पादनमा जाने अपेक्षा गरिएको छ।

मिडियाटेकले गत महिना कन्भर्टिबल बन्ड बिक्रीमार्फत ३.९ अर्ब डलर जुटाएको थियो। एनभिडियाले उक्त बिक्रीमा ३.५ अर्ब डलर लगानी गरेको थियो भने एआई पूर्वाधारमा मिडियाटेकको लामो समयदेखिको साझेदार अल्फाबेटले पनि सहभागिता जनाएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours