३० भदौ, काठमाडौँ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले असोज १ गते बिहानदेखि कृष्णभिर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुने जानकारी दिनुभएको छ । भदौ १४ गते आएको पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका – ७ कृष्णभिरस्थित पृथ्वीलोकमार्ग केही दिनयता पूर्णरुपमा अवरुद्ध छ ।
धादिङमा भदौ १६ गतेको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलास्थित पृथ्वीलोकमार्ग र भदौ २६ गतेको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका शितलबजारस्थित पृथ्वीलोकमार्ग भने एकतर्फी सुचारु छ ।
प्रमुख पाण्डेयले भन्नुभयो, “कृष्णभिरमा पर्सी बिहानदेखि बाटो पूर्णरुपमा खुल्छ । बिहान, बेलुका परीक्षण भइरहेको छ । अहिले इमरजेन्सी सवारी साधनहरु पठाउने काम भइरहेको छ ।”
नेपाल प्रहरीका अनुसार काभ्रेमा सम्भावित बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पुर्ण सवारी साधनहरु समयानुसार सञ्चालन गरिएको छ । सो क्षेत्रमा भदौ १६ गतेदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म दश टनसम्मको मालबाहक सवारी साधनहरु सञ्चालन हुने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी सवारी साधनहरु सुचारु हुनेछ ।
रसुवामा सम्भावित बाढीका कारण मुख्य राजमार्ग अर्को सूचना नभएसम्म पूर्णरुपमा अवरुद्ध छ । नुवाकोटमा सम्भावित बाढी, पहिरोका कारण शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा छहरे सडक खण्ड भदौ १ गते राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मको लागि रतको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी, नुवाकोटमा विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडक खण्ड अर्को सूचना नभएसम्मको लागि अवरुद्ध छ । चितवनमा सडक मर्मतका कारण तुइनखोलास्थित नारायणगड–मुग्लिन राजमार्ग गाडीको चाप हेरि एकतर्फी सुचारु छ । कर्णाली प्रदेश अन्तर्गत हुम्लामा पहिरोका कारण सर्केगाड गाउँपालिका–६ खरीखेतस्थित कर्णाली करिडोर पूर्णरुपमा अवरुद्ध छ ।


+ There are no comments
Add yours