नेपालमा गएको पहिरोले केरुङ नाकामा ठूलो क्षतिः चीनद्वारा उच्चस्तरीय आपत्कालीन उद्धार शुरु

११ भाद्र, काठमाडौँ। नेपालमा गएको विनाशकारी पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिझाङ (तिब्बत) स्वायत्त क्षेत्रमा अवस्थित केरुङ (जिरोङ) नाकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

बुधवार बिहान भएको यस प्राकृतिक विपद्पछि चिनियाँ अधिकारीहरूले व्यापक स्तरमा उद्धार र राहत कार्य शुरु गरेका छन् । चीनको प्राकृतिक स्रोत मन्त्रालयले भौगर्भिक विपद्का लागि दोस्रो उच्च तहको आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ ।

मन्त्रालयले उद्धार कार्यको प्रत्यक्ष निगरानी गर्न र थप सम्भावित जोखिम न्युनिकरणका लागि एक विज्ञ टोली घटनास्थलमा पठाएको छ ।

विपद् रोकथाम, न्युनिकरण तथा राहतका लागि राष्ट्रिय आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा दोस्रो तहको राहत प्याकेज घोषणा गरेका छन् ।

विस्थापितहरूको उचित व्यवस्थापनका लागि ३० हजार थान केन्द्रिय राहत सामग्री विनियोजन गरिएको छ, जसमा टेन्ट, चुलो, लत्ताकपडा, कम्बल र ओछ्यानहरू समावेश छन् ।

आर्थिक सहयोगतर्फ, चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले सिझाङमा तत्काल उद्धार कार्य सञ्चालन गर्न १२ करोड युआन (करिब १७.६९ मिलियन अमेरिकी डलर) विनियोजन गरेका छन् । यसका साथै, राष्ट्रिय विकास तथा सुधार आयोगले विपद्पछिको पुनर्निर्माण र पूर्वाधार पुनस्र्थापनाका लागि थप १० करोड युआन उपलब्ध गराउने निर्णय गरेको छ ।

सिगात्से सहरको केरुङ काउन्टीस्थित आपत्कालीन व्यवस्थापन ब्युरोकाअनुसार पहिरोका कारण नाका जोड्ने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । विपद्ले गर्दा उक्त क्षेत्रमा सञ्चार र विद्युत् आपूर्ति समेत ठप्प भएको जनाइएको छ ।

केरुङ नाका नेपाल र चीनबीचको व्यापार तथा पारवहनका लागि प्रयोग हुने एक प्रमुख स्थल मार्ग हो । हाल त्यहाँ युद्धस्तरमा उद्धार कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours