११ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न र सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाउन कम्पनीले उक्त सहयोगको हात बढाएको जनाएको छ ।
कम्पनीले बाढी–पहिरो प्रभावित नागरिकहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यसैगरी, कम्पनीले आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायहरूको महत्त्वपूर्ण योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको भन्दै कम्पनीले राष्ट्रलाई परेको हरेक सङ्कटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ ।
आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने एक्स्ट्रीम इनर्जी ड्रिंक्सले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।


+ There are no comments
Add yours