कोलोम्बियामा दशककै शक्तिशाली भूकम्प, हालसम्म ७७ जनाको मृत्यु

२६ साउन, काठमाडौँ । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ७७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भइरहेका छन् । भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो ।

शुक्रबार मात्रै पदभार सम्हालेका कोलोम्बियाका राष्ट्रपति अबेलार्दो दे लासप्रिएजा आपत्कालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न राजधानी बोगोटा पुगेका छन् । बीबीसीका अनुसार उनी अहिले उपराष्ट्रपति, मन्त्रीहरू तथा सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरूसँगै विपद् जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय एकाइ (यूएनजीआरडी) को राष्ट्रिय संकट कक्षमा छन् । यसअघि लासप्रिएजाले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रको सुरक्षा र सहयोगका लागि ‘आवश्यक सबै काम’ गर्ने बताएका थिए ।

पश्चिमी कोलोम्बियाका छ वटा साना विमानस्थलहरूले सञ्चालन स्थगित गरेको त्यहाँको नागरिक उड्डयन निकायले जनाएको छ । भूकम्पमा घाइते तथा मृत्यु हुनेको खोजी तथा उद्धार जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

कोलोम्बिया विभिन्न टेक्टोनिक प्लेटको संगमस्थलमा अवस्थित भएकाले यहाँ भूकम्पीय गतिविधि तीव्र हुने गर्छ । त्यसैले देशमा शक्तिशाली भूकम्पहरू पनि बारम्बार जाने गरेका छन् । सामान्यतः तटीय क्षेत्रमा भूकम्पको तीव्रता बढी हुने गर्छ । त्यस्ता भूकम्पले सुनामीसमेत निम्त्याउन सक्छन्, जसबाट थप क्षति हुन सक्छ ।

सन् १९५० यता कोलोम्बियामा भूकम्पका कारण ३ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा विनाशकारी भूकम्प सन् १९९९ मा गएको थियो । त्यतिबेला ६.२ म्याग्निच्युडको भूकम्पले आर्मेनिया, कालार्का, पेरेइरा, काल्डास र हुइला क्षेत्रमा क्षति पुर्‍याउँदा १ हजार १ सय ८५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो पटक गत वर्ष कुन्डिनामार्कामा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसमा भने कसैको मृत्यु भएको थिएन । कोलोम्बियाको भूगर्भसम्बन्धी सेवाका निर्देशक जुलियो फिएरो मोरालेसका अनुसार सोमबार गएको ७.४ म्याग्निच्युडको भूकम्प पछिल्लो दशकमा देशमा मापन भएमध्येकै सबैभन्दा शक्तिशाली हो ।

अमेरिका, दक्षिण अमेरिका, युरोप र मध्यपूर्वका विभिन्न देशका नेताहरूले कोलोम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रशासनले भूकम्पको घटनालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् । उनले अमेरिका ‘कोलोम्बियाली जनता र नेतृत्वलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

यस्तै, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले आफ्नो सरकार उद्धार टोली, स्वास्थ्यकर्मी, प्यारामेडिक्स, आवश्यक सामग्री वा अन्य जुनसुकै सहयोगसहित तत्काल सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

त्यस्तै, ग्वाटेमालाको विदेश मन्त्रालयले कोलोम्बियामा रहेका आफ्ना नागरिकका लागि आपत्कालीन फोन नम्बर सार्वजनिक गरेको छ । उसले नागरिकहरूलाई स्थानीय अधिकारीका निर्देशनप्रति सचेत रहन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ ।

यसैगरी चिलीका राष्ट्रपति जोसे एन्टोनियो कास्टले आफ्नो देशले भूकम्पपछि उत्पन्न हुने पीडा र चुनौतीलाई बुझेको बताएका छन् । उनले कोलोम्बियालाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए ।

इक्वेडरका राष्ट्रपति डानिएल नोबोआले आफ्नो देशको सहरी खोज तथा उद्धार टोली सहयोगका लागि उपलब्ध गराउने बताएका छन् । उनका अनुसार टोलीमा ४७ जना उद्धारकर्मी, विशेष तालिमप्राप्त खोजी कुकुर र सात दिनसम्म स्वतन्त्र रूपमा काम गर्न सक्ने उपकरण छन् । उनले आवश्यक परे तत्काल टोली परिचालन गर्न तयार रहेको बताएका छन् ।

यस्तै, भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले सोमबारको भूकम्पपछि कोलोम्बियाप्रति ‘ऐक्यबद्धता र प्रार्थना’ व्यक्त गरेकी छन् । उनले यस्तो ठूलो विपत्तिको सामना गर्दा अन्तर्राष्ट्रिय ऐक्यबद्धता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भेनेजुएलाका नागरिकले ‘प्रत्यक्ष रूपमा बुझेको’ बताएकी छन् ।

यसअघि जुन महिनाको अन्त्यतिर भेनेजुएलामा विनाशकारी भूकम्प गएको थियो । भेनेजुएलामा जुन २४ मा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पहरूमा ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र व्यापक सम्पत्ति क्षति भएको थियो । एजेन्सीको सहयोगमा

You May Also Like

More From Author

+ There are no comments

Add yours