हवाइ इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक उडानको भाडा बढ्यो

१९ साउन, काठमाडौँ । नेपाल आयल निगमले साउन १७ गते आन्तरिक हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले हवाइ भाडा (फ्युल सरचार्ज) बढाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको नयाँ फ्युल सरचार्जको दररेट आजैका मितिदेखि लागू हुने गरी सार्वजनिक गरिएको छ । प्राधिकरणका अनुसार साबिकमा प्रतिलिटर २२९ रुपैयाँ रहेको आन्तरिक हवाइ इन्धनको मूल्य ८.७३ प्रतिशतले बढेर प्रतिलिटर २४९ रुपैयाँ पुगेको छ ।

हवाइ इन्धनको मूल्यवृद्धिको अनुपातमा उडान अवधि अनुसार प्रतिसिट प्रतिमिनेट १३२ रुपैयाँका दरले फ्युल सरचार्ज समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ समायोजित दररेट अनुसार काठमाडौंबाट हुने उडानमध्ये सबैभन्दा कम साबिकको भाडामा काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ वृद्धि भई २,२४० रुपैयाँ पुगेको छ भने सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँले बढेर ११,००० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौं–पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा ६८५ रुपैयाँ बढेर नयाँ सरचार्ज ८,५४५ रुपैयाँ कायम भएको छ । यसमा फेयर र विमानस्थल विकास शुल्क र भ्याट समावेश छैन ।

काठमाडौं माउन्टेन फ्लाइट रुटमा ६८५, काठमाडौं– भद्रपुरमा ६०५, काठमाडौं- विराटनगर ४८०, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको प्राधिकरणले जनाएको छ ।

काठमाडौ–पोखरा ३१५, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगन्ज ६५५, काठमाडौं–तुम्लिङटार ३७० र काठमाडौं–सिमराको भाडा १८० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुर ८१०, पोखरा–धनगढी ६८५, पोखरा– जनकपुर ५२५ रुपैयाँले मूल्य बढेको देखिएको छ ।

आन्तरिक उडानको हवाइ भाडामा फ्युल सरचार्ज, फेयर , विमानस्थल विकास शुल्क र भ्याट गरी चार शीर्षकमा हवाइ टिकटमा समेटिएका हुन्छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours