हरेक दिन ४ हजार २ सय थपिन्छन् ‘डिम्याट’ खाता

२० साउन, काठमाडौँ । नेपालमा हेरक दिन औसत ४ हजार २ सय नयाँ ‘डिम्याट’ खाता थपिने गरेका छन् । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्ने क्रम पनि बढेको हो ।

सीडीएस एन्ड क्लियरिङका अनुसार सोमबारसम्म ८१ लाख ३० हजार ३ सय ५८ वटा डिम्याट खाता खोलिएका छन् । कुल खातामध्ये ४६ लाख ४४ हजार ९६ खाता पुरुष, ३४ लाख ४६ हजार ५ सय ८० महिला, ९ हजार ६ सय ५ संस्थागत र बाँकी अन्य शीर्षकमा रहेका छन् ।

दोस्रो बजारमा सेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ। यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा सेयर बजारमा लगानीकर्ताको संख्याका रूपमा विश्लेषण गरिएको हो।

एक व्यक्तिले एकभन्दा बढी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन्, त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था छैन। तर सीडीएससी स्रोतका अनुसार हालसम्म खुलेका ८० लाख हाराहारी खातामध्ये ५ देखि ६ लाखसम्म मात्र दोहोरिएको छ। तीमध्ये धेरै खाता आईपीओ हाल्न मात्रै उपयोग हुने गरेको र करिब २० देखि ३० लाख खाता सेयरविहीन रहेको स्रोतले जानकारी दिएको छ।

सीडीएससीका अनुसार पाँच वर्षमा डिम्याट खाता संख्या २६ लाख ६३ हजारले बढेको छ। सेयर कारोबारबारे व्यक्तिगत विवरण रहने एप ‘मेरो सेयर’ मा हाल ७१ लाख ९ हजार ९ सय १७ प्रयोगकर्ता छन्। तीमध्ये ५१ लाख २५ हजार ३ सय ११ सक्रिय प्रयोगकर्ता रहेको सीडीएससीको तथ्यांक छ।

पाँच वर्षअघि २०७८/७९ मा ४३ लाख ९५ हजारमा मेरो सेयर एपका प्रयोगकर्ता रहेकामा २०७९/८० मा ४८ लाख २६ हजार, त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः ५३ लाख ६९ हजार र ५९ लाख ७६ हजार पुगेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours