शताब्दीऔँ पुरानो ऐतिहासिक देवदारको रूख ढल्यो, स्थानीय शोकमा

१९ साउन, जुम्ला जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन्। पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन्।

स्थानीयवासीले उक्त रूख करिब ४ सय वर्ष पुरानो भएको अनुमान गरेका छन्। यद्यपि यसको वैज्ञानिक पुष्टि भने हुन बाँकी नै छ।

पाण्डवकालदेखिको आस्था र ढल्नुको कारण

स्थानीय ६६ वर्षीय कालिका भट्टराईका अनुसार धार्मिक आस्थाको प्रतीक मानिँदै आएको उक्त देवदार साउन १७ गते आइतबार ढलेको हो। कर्णालीको स्थानीय भाषामा ‘द्यार’ भनिने यो रूख पाण्डवकालदेखि नै अस्तित्वमा रहेको जनविश्वास रहेको स्थानीय ७४ वर्षीय दीपबहादुर हमालले बताए।

वि.सं. २०३२ मा रूखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दै जरा कुहिएकाले ढलेको अनुमान गरिएको छ। तिला–४ का ८४ वर्षीय वीरबहादुर सिंहका अनुसार १ हजार वर्ष बढ्न, १ हजार वर्ष उभिन, १ हजार वर्ष ढल्न र अर्को १ हजार वर्ष कुहिन समय लाग्ने विश्वास देवदारबारे गरिन्छ।

भौतिक क्षति र वैज्ञानिक अध्ययनको तयारी

करिब ४ मिटर गोलाइ र ४५ मिटर उचाइ भएको उक्त रूख सडकतर्फ ढल्दा टेलिफोन, विद्युत्को खम्बा र धानबालीमा सामान्य क्षति पुगेको छ। कुनै मानवीय क्षति भने नभएको जनाइएको छ।

स्थानीय निराजन गौतमले रूख ढलेको स्थानमा मन्दिर वा चौतारी निर्माण गर्न सरकारसँग माग गरेका छन्। डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बूढाथोकीले ढलेको रूखको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने जानकारी दिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours