११ असार, काठमाडौँ। अलिबाबाले आफूलाई चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको सूचीमा राखिएको भन्दै अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले आफूले चिनियाँ जनमुक्ति सेना (पीएलए) लाई समर्थन नगरेको दाबी गर्दै उक्त कालोसूचीबाट हटाउन माग गरेको छ।
अमेरिकी रक्षा मन्त्रालयले अलिबाबालाई चिनियाँ जनमुक्ति सेनासँग सम्बन्धित ठानेको कम्पनीहरूको अद्यावधिक सूचीमा समावेश गरेपछि कम्पनीले अमेरिकी सरकारविरुद्ध कानुनी कारबाही थालेको हो।
ब्लुमबर्ग र बीबीसीका अनुसार चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले पेन्टागनको कालोसूचीबाट आफ्नो नाम हटाउन माग गर्दै मुद्दा दायर गरेको छ। कम्पनीले सूचीमा आफ्नो नाम समावेश गर्नु तथ्य र कानुन दुवैको आधारविहीन भएको तथा अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक प्रक्रियासम्बन्धी अधिकारको उल्लंघन भएको दाबी गरेको छ।
रक्षा मन्त्रालयले यसै महिना सार्वजनिक गरेको अद्यावधिक 1260H सूचीमा इन्टरनेट सेवा प्रदायक बाइडुलाई पनि समावेश गरेको छ। बाइडुलाई चीनमा गुगलको समकक्ष कम्पनी मानिन्छ। मन्त्रालयले बेइजिङसँगको नियामक सम्बन्धका कारण अलिबाबालाई “चिनियाँ रक्षा औद्योगिक आधारमा सैन्य–नागरिक एकीकरणमा योगदान गर्ने” कम्पनीको रूपमा वर्णन गरेको छ।
इन्ग्याजेटका अनुसार 1260H सूचीमा समावेश हुँदा कम्पनीमाथि स्वतः प्रतिबन्ध लाग्दैन। तर त्यसपछि रक्षा मन्त्रालयले उक्त कम्पनीसँग प्रत्यक्ष वा तेस्रो पक्षमार्फत व्यापार गर्न वा उसका उत्पादन तथा सेवा प्रयोग गर्न पाउँदैन।
अन्य कम्पनीहरूले पनि यसलाई चेतावनी संकेतका रूपमा लिन सक्छन्, किनभने सूचीमा रहेका कम्पनीसँग कारोबार गरेमा उनीहरूले अमेरिकी सरकारबाट व्यापारिक प्रतिबन्धलगायत अन्य असरहरू सामना गर्नुपर्ने हुन सक्छ।
अलिबाबाका अनुसार यो निर्णयका कारण कम्पनीलाई उक्त सूचीविरुद्ध चुनौती दिन सहयोग गर्न सक्ने वकिलहरूलाई समेत कायम राख्न कठिनाइ भइरहेको छ।
ब्लुमबर्गका अनुसार फेब्रुअरीमा पेन्टागनले अलिबाबाको नाम समावेश गरिएको सूचीको एक संस्करण केही समयका लागि सार्वजनिक गरेर हटाएपछि कम्पनीले अमेरिकी सरकारसँग संवाद सुरु गरेको थियो। कम्पनीले आफूले चिनियाँ सेनालाई समर्थन नगरेको प्रमाण पनि पेश गरेको बताइएको छ तर सम्बन्धित निकायले त्यसबारे कुनै जवाफ दिएको थिएन।
अलिबाबाले आफ्ना कुनै पनि बोर्ड सदस्यको सैन्य सम्बन्ध नरहेको दाबी गर्दै आफ्ना प्लेटफर्महरू केवल ई–कमर्स र क्लाउड कम्प्युटिङका लागि बनाइएको, हतियार वा गुप्तचर गतिविधिका लागि नभएको स्पष्ट पारेको छ।
“अलिबाबा चिनियाँ सैन्य कम्पनी होइन र कुनै सैन्य–नागरिक एकीकरण रणनीतिको हिस्सा पनि होइन,” कम्पनीले बीबीसीलाई बताएको छ। “अलिबाबालाई 1260H सूचीमा राख्ने निर्णय मनपरी र आधारहीन छ, र हामी सूचीबाट हटाउन माग गर्दै रक्षा मन्त्रालयविरुद्ध मुद्दा दायर गरिरहेका छौं।”


+ There are no comments
Add yours