केप भर्डको विश्वकीर्तिमानी प्रदर्शन: साविक युरोपियन च्याम्पियन स्पेन बराबरीमा रोकियो

विश्वकपमा केप भर्डेन नवप्रवेशी टाेली हाे।

०२ असार, काठमाडौं । विश्वकप फुटबल २०२६ को समूह ‘एच’ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा महादेशीय च्याम्पियन स्पेन र कमजोर मानिएको अफ्रिकी राष्ट्र केप भर्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

केवल ५ लाख ५० हजार जनसङ्ख्या भएको केप भर्डले फुटबल इतिहासकै सबैभन्दा आश्चर्यजनक नतिजा निकाल्दै बलियो टोली स्पेनलाई अङ्क बाँड्न बाध्य पार्यो ।

खेल अवधिभर स्पेनले बलमाथि पूर्ण नियन्त्रण राख्दै लगातार आक्रमण बुने पनि केप भर्डको रक्षात्मक पर्खाल तोड्न असफल रह्यो । पहिलो हाफमा उत्कृष्ट बचाउ गरेका केप भर्डका ४० वर्षे गोलकिपर वोजिन्हाले दोस्रो हाफमा पनि स्पेनिस टोलीका प्रयासहरूलाई विफल पारिदिएका थिए ।

दोस्रो हाफमा थप आक्रामक स्पेन, विफल प्रयास

दोस्रो हाफमा स्पेनका प्रशिक्षक लुइस डी ला फुएन्तेले आक्रामक रणनीति अपनाउँदै स्टार विङ्गर लामिन यमाल, डानी ओल्मो र मिकेल मेरिनोलाई मैदान प्रवेश गराएका थिए । मैदान छिर्नेबित्तिकै यमालले उत्कृष्ट अवसर सिर्जना गरे पनि मेरिनोको प्रहार सिधै केप भर्डका गोलकिपरको हातमा पुग्यो ।

खेलको ८४औँ मिनेटमा स्पेनका लेफ्ट-ब्याक मार्क कुकुरेलाले पोस्ट नजिकैबाट प्रहार गरेको हेड बललाई पनि वोजिन्हाले उत्कृष्ट बचाउ गरे । त्यस्तै खेलको ८९औँ मिनेटमा ओयार्साबालको प्रहारलाई केप भर्डका डिफेन्डर पिको लोपेसले आफ्नो ज्यान फालेर उत्कृष्ट ब्लक गर्दै संकट टारेका थिए ।

खेलको अन्तिम क्षणमा केप भर्डको सनसनीपूर्ण काउन्टर

निर्धारित समयको अन्तिम मिनेटमा केप भर्डले खेल जित्ने निकै सुनौलो र सनसनीपूर्ण अवसर पाएको थियो । काउन्टर अट्याकमा प्राप्त कर्नर बलमा अनमार्क रहेका बोरगेसले गरेको उत्कृष्ट हेड प्रहारलाई स्पेनिस गोलकिपर उनाई सिमोनले मुस्किलले बचाएका थिए ।

स्पेनले खेलभर २ दशमलव २८ एक्सजी (अपेक्षित गोल) बराबरको आक्रमण बुने पनि रक्षात्मक रूपमा अनुशासित र उच्च मनोबलका साथ खेलेको केप भर्डले ऐतिहासिक एक अङ्क खोस्न सफल भयो । विश्वकपमा पहिलो पटक डेब्यु गरेको केप भर्डका लागि यो नतिजा जितभन्दा कम रहेन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours