०५ जेठ, काठमाडौँ। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ सुरु हुन केही दिन मात्र बाँकी रहँदा आयोजक राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाले अन्तिम तयारीलाई तीव्र बनाएका छन्।
इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म तीन देशका १६ सहरमा सञ्चालन हुनेछ। कुल १०४ खेल हुने यस संस्करणलाई सफल बनाउन सुरक्षा, यातायात, रंगशाला व्यवस्थापन तथा दर्शक सेवासम्बन्धी तयारी अन्तिम चरणमा पुगेको फिफाले जनाएको छ।
आयोजक सहरहरूमा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। तीनवटै देशका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा फिफाबीच व्यापक समन्वय भइरहेको छ। प्रतियोगिताभर रंगशाला, फ्यान फेस्ट, टोलीको बसोबास क्षेत्र तथा यातायात केन्द्रहरूको सुरक्षाका लागि सयौं सुरक्षा निकाय परिचालन गरिने जनाइएको छ।
यस्तै, लाखौं दर्शकको आवागमनलाई व्यवस्थित बनाउन यातायात योजनाहरू कार्यान्वयनमा ल्याइएका छन्। विभिन्न आयोजक सहरहरूले सार्वजनिक यातायात सेवा विस्तार गर्नुका साथै विशेष शटल बस, रेल सेवा र पार्किङ व्यवस्थापनको तयारी पूरा गरेका छन्।
विश्वकपका लागि छनोट गरिएका १६ रंगशालाहरू पनि पूर्ण रूपमा तयार अवस्थामा रहेको फिफाले जनाएको छ। कतिपय रंगशालामा घाँसे मैदान, प्रसारण पूर्वाधार तथा दर्शक सुविधामा विशेष सुधार गरिएको छ।
दर्शकको सुविधालाई ध्यानमा राख्दै गर्मीको प्रभाव न्यूनीकरण गर्न शीतल क्षेत्र, पानी वितरण केन्द्र तथा स्वास्थ्य सहायता केन्द्रहरू स्थापना गरिएका छन्। हालै फिफाले दर्शकलाई निश्चित मापदण्डभित्र रहेर पानीका बोतल लैजान अनुमति दिने निर्णय पनि गरेको छ।
तीन महादेशका समर्थक, खेलाडी र अधिकारीहरूलाई स्वागत गर्न आयोजक राष्ट्रहरू पूर्ण तयारीमा जुटेका छन्। अब विश्व फुटबलप्रेमीको नजर इतिहासकै सबैभन्दा ठूलो विश्वकपको उद्घाटन खेलतर्फ केन्द्रित भएको छ।


+ There are no comments
Add yours